पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै खानले राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको बताए।
आफूले बानिगालास्थित आफ्नै घरमा बस्न चाहेको भए पनि सुरक्षा अधिकारीहरुले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन्। उनी अब इस्लामवादको तीन बेडरूम भएको एउटा घरमा बस्नेछन्।
अहिलेको प्रधानमन्त्री निवासमा ५ सय २४ कामदार र ८० बुलेटप्रुफ कार छन्। इमरानले आफूले २ जनामात्र कामदार राख्ने र कारहरू लिलामीमा बेच्ने घोषणा गरेका छन्।
‘प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कार छन्, उड्नलाई हेलिकप्टर र जहाज छन्। हाम्रा गभर्नरका आलिसान निवास छन्। एकातिर हामीसँग जनताका लागि खर्च गर्ने पैसा छैन। अर्कातिर एउटा वर्ग छ जो हामीमाथि उपनिवेश जमाउनेहरू जसरी बस्थे त्यसैगरी बसिरहेका छन्,’ इमरानले भने।
उनले प्रधानमन्त्रीसहित उच्चपदस्थको विदेश भ्रमणमा अनावश्यक खर्च भइरहेको बताएका छन्।
‘प्रधानमन्त्रीको विदेश भ्रमणमा कति पैसा खर्च हुन्छ? ६५ करोड पाकिस्तानी रूपैयाँ कहाँ खर्च हुन्छ? सभामुखलाई छुट्याइएको १६ करोड रुपैयाँ उनी केमा खर्च गर्छन्? के उनीहरू राज्यविस्तार गर्न विदेश जान्छन्?,’ इमरानको प्रश्न छ।
खानले दुइटा गाडीबाहेक सबै लिलामी हुने भएकाले व्यापारीलाई ती किन्न निमन्त्रणा गरेका छन्। उनले सबै गभर्नर निवाससहित सरकारी भवनलाई जति सकिन्छ सामान्य बनाउने बताए।
इमरानले प्रधानमन्त्री निवासको जग्गा र सम्पत्तिमा अनुसन्धान विश्वविद्यालय बनाउने आफ्नो चाहना रहेको उल्लेख गरे।
उनले नयाँ पाकिस्तान बनाउन नयाँ सोच आवश्यक रहेको पनि उल्लेख गरे।
यसअघि चुनावका बेला इमरानले वंशवाद र भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएका थिए।
इमरानको उदय
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानले केही वर्ष पहिले एक अन्तर्वार्ता भनेका थिए- तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रा सपनासँग कहिल्यै सम्झौता नगर।
सन् १९९२ मा पाकिस्तानले विश्वकप क्रिकेटको उपाधि उचाल्दा उनी कप्तान थिए।
६५ वर्षिय इमरान आज पाकिस्तानको राजनीतिक कप्तानी सम्हाल्ने आफ्नो अर्को सपना पूरा भएको छ।।
यसपालिको आमचुनावबाट उनको पार्टी पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) सबैभन्दा ठूलो दल बनेको छ।
सन् १९९६ मा इमरानले नयाँ पार्टी खोले- पाकिस्तान तेहरीक-ए-इन्साफ अर्थात् न्यायका लागि आन्दोलन। पार्टी खोलेसँगै इमरानले आफ्नो खानपान र लवाइखवाइ पनि बदले। धेरैजसो समय इंग्ल्याण्डमै बस्ने इमरानले पार्टी खोलेपछि नै हो पश्चिमा सम्भ्रान्तले लगाउने लुगा फुकालेर सेतो सुरुवाल र कमिज लगाउन थालेको। सेतो सुरूवाल र कमिज आमपाकिस्तानीको लुगा हो।
सुरूदेखि नै उनले राजनीतिमा भ्रष्टाचार र वंशवादको मुद्दा उठाए। यो उनको रणनैतिक छनौट थियो। उनले उठाएको वंशवाद बेनजिर भुट्टो र भ्रष्टाचारको मुद्दा व्यापारी हुँदै राजनीतिमा आएका नवाज सरिफविरूद्ध लक्षित थियो।
१९६७ मा जुल्फिकर अली भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले सन् १९७० को चुनावपछि सत्ता सम्हाल्यो। जुल्फिकर प्रधानमन्त्री बने।
पिपिपीले अर्को चुनाव सन् १९८८ मा जित्यो। भुट्टोकी छोरी बेनजिर प्रधानमन्त्री भइन्।
१९९३ को चुनाव पनि पिपिपीले जित्यो। बेनजिर फेरि प्रधानमन्त्री बनिन्।
सन् २००८ को चुनावबाट पिपिपीका युसुफ राजा गिलानी प्रधानमन्त्री बने। बेनजिरका श्रीमान् असिफ अलि जर्दारी राष्ट्रपति भए।
यसपालि पिपिपीबाट बेनजिरका छोरा बिलवाल भुट्टो जर्दारी प्रधानमन्त्रीका उम्मेद्वार थिए।
स्थापनाकाल देखि नै पाकिस्तानको सत्ता सम्हाल्दै आएको मुस्लिम लिग ८० को दशकमा विभाजित भयो। नवाज सरिफले आफ्नो नेतृत्वमा पाकिस्तान मुस्लिम लिग(नवाज) बनाए।
उनको पार्टीले पहिलो पटक सन् १९८८ को चुनाव लड्यो। यो पार्टीले तीन पटक सत्ता सम्हाल्यो। तीनै चोटी नवाज सरिफ प्रधानमन्त्री बने।
पछिल्लो पटक स्पष्ट बहुमत ल्याएर सन् २०१३ मा प्रधानमन्त्री बनेका सरिफलाई गत वर्ष अदालतले भ्रष्टाचारमा दोषी ठहर्याउँदै प्रधानमन्त्री हुन अयोग्य घोषणा गर्यो। गत महिना उनलाई १० वर्षका लागि जेल हालियो।
पिपिपीको वंशवाद र सरिफ शासनकालको भ्रष्टाचारबाट दिक्क पाकिस्तानीमाझ इमरानले आफूलाई उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरे।
इमरानलाई पाकिस्तान मतदाताले पहिलो पटक नै अनुमोदन गरेका भने होइनन्। २२ वर्षसम्म उनले धेरै पसिना बगाएका छन्। सन् २००२ मा चुनाव लड्दा इमरानबाहेक उनको पार्टीका सबै उम्मेदवार पराजित भए। २००८ को चुनाव उनले बहिष्कार गरे।
सन् २०१३ को चुनावमा उनको पार्टीले केन्द्रीय संसदमा ३२ सिट पायो भने उत्तर पश्चिमी खाइबर पाख्तुन्ख्वा प्रान्तमा सरकार बनायो।
‘पाकिस्तानको मुख्य मुद्दा भ्रष्टाचार र सुशासन हो। मलाई विश्वास छ चुनावी अभियानमार्फत् मतदाताको ठूलो अनिर्णित समूह पिटिआईतिर आकर्षित हुनेछन्,’ चुनावअघि इमरानले बिबिसीसँग भनेका थिए।
उनले पार्टी अभियानलाई युवालक्षित बनाए।
इमरानका ‘नयाँ पाकिस्तान’ र ‘भ्रष्टाचाररहित पाकिस्तान’ को नारामा आकर्षित आजको युवा पुस्ताले उनले क्रिकेट खेलेको युट्युबमा मात्र हेरेका छन्।
पाकिस्तानको ७० प्रतिशत जनसंख्या ३० वर्षमूनिकाको छन्।
तिनै युवालाई आकर्षित गर्न उनी चुनावी र्यालीमा गितारिस्ट र डिजे पनि सँगै लैजान्थे।
चुनावमा उनले क्रिकेटका बिम्ब (मेटाफर) पनि प्रयोग गरे। विपक्षी पार्टीका नेताले चोर औंला उठाएर केही भने उनी त्यसलाई अम्पाएरको औंला भन्थे। कोही विपक्षी उनको पार्टीमा प्रवेश गरे टिभीले हेडलाइन बनाउँथे-अर्को विकेट झर्यो।
इमरानको पार्टीमा मानिसहरू थपिँदै गए।
उनीसँग जमिन्दार, सामन्तलगायत सबैखालका मानिस थिए। पिटिआईका धेरै उम्मेद्वार व्यक्तिगत भोट ब्यांक भएका व्यावसायिक राजनीतिज्ञ थिए। जो चुनाव जित्ने सबै तरिका जान्दथे।
सुरूमा उदारवादको वकालत गर्ने इमरान पछिल्लो समय विस्तारै कट्टरपन्थी सोचतर्फ मोडिएका छन्।
कतिपयले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेर इमरान ट्रम्प र डोनाल्ड खान पनि भन्ने गरेका छन्।
ट्रम्पजस्तै खानपनि पाकिस्तानी समाज गहिरो ध्रुविकरण भइरहेका बेला सत्तामा आइपुगेका छन्। योसँगै लामो समयको सहयोगी अमेरिका र दुई छिमेकी भारत र अफगानिस्तानसँगको सम्बन्ध कटूतापूर्ण भएका बेला उनी सत्ताको बागडोर सम्हालेका छन्।
को हुन् इमरान?
१९५२मा लाहोरको उच्च मध्यम वर्गिय परिवारमा जन्मिएका इमरान सन् १९७१ मा पाकिस्तानको राष्ट्रिय टिममा डेब्यू गरे। अर्को वर्ष उनी अक्सफोर्ड पढ्न गए। अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन,राजनीति र अर्थशास्त्रमा स्नातक गरे।
१९७७ को सिड्नी टेस्टमा उनले १२ विकेट लिएर सनसनी मच्चाए। अष्ट्रेलियाको केरी प्याकर्स वर्ल्ड क्रिकेट सिरिजबाट उनी अन्तर्राष्ट्रिय स्टार बने।
१९८२ मा उनले एक वर्षमा ६२ विकेट लिए। त्यही वर्ष उनी पाकिस्तानको कप्तान बने। उनी क्रिकेट इतिहासमै सबैभन्दा उत्कृष्ट केही अलराउन्डरमध्ये दरिए।
राष्ट्रिय टोलीबाट १७ वर्ष खेलेपछि सन् १९८८मा उनले क्रिकेटबाट सन्यास घोषणा गरे। राष्ट्रपतिले नै अनुरोध गरेपछि उनी फेरि क्रिकेट मैदानमा छिरे।
सन् १९९२ मा उनको कप्तानीमा पाकिस्तानले विश्वकप उचाल्यो। पाकिस्तानले अहिलेसम्म जितेको विश्वकप त्यही हो। त्यही वर्ष इमरानले क्रिकेट सधैँका लागि छोडे र समाजसेवामा लागे।
१९९४ मा उनले क्यान्सर अस्पताल बनाउन २ करोड ५० लाख डलर उठाए। लाहोरमा उनले आफ्नी आमाको नाममा खोलेको उक्त अस्पताल पाकिस्तानकै उत्कृष्ट क्यान्सर अस्पताल हो।
उनका विरोधीले उनको विवाह र सम्बन्धलाई देखाउँदै उनको चरित्र र आस्थामाथि प्रश्न उठाउँछन्।
जवानीमा उनी प्लेब्योइका रूपमा पनि चर्चामा थिए। सुन्दरी र मोडलहरूसँग उनको सम्बन्ध सधैँ अखबारमा हेडलाइन बन्थे।
सन् १९९५ मा उनले धनाढ्यकी छोरी जेमिमा गोल्डस्मिथसँग बिहे गरे। २००४ मा उनीहरूको सम्बन्धविच्छेद भयो। २०१५ मा उनले रेहम खानसँग दोस्रो विवाह गरे। त्यो एक वर्ष पनि टिकेन। यही वर्ष उनले बुसरा मनिकासँग तेस्रो विवाह गरेका छन्।
तर यस्ता कुराले कुनै पुरूष राजनीतिज्ञलाई पाकिस्तानमा असर पारेको इतिहास छैन।
इमरानका लागि सबैभन्दा ठूलो चुनौती पाकिस्तानी सेनासँगको सम्बन्ध हुने देखिन्छ।
अझ महत्वपूर्ण कुरा त उनको यो परीक्षण हुन बाँकी छ कि पाकिस्तानको शक्ति इमरान छिटै जान लागेको इस्लामावादको कन्स्टिच्यसन एभिन्यूमा रहेको प्रधानमन्त्री निवासमा होइन निवासमा होइन रावलपिण्डीको सैनिक मुख्यालयमा छ।
यही शक्तिका आडमा पाकिस्तानी सेनाले बेलाबेला जननिर्वाचित सरकारलाई अपदस्त गर्दै आएको छ।
उनीमाथि चुनावी जितका लागि सेनासँग मिलेको आरोप छ। यद्यपी सेना र इमरान दुबैले यो आरोप अस्वीकार गर्दै आएका छन्।
नयाँ पाकिस्तानको नारा दिएर इमरान राजनीतिको केन्द्रमा आएका छन्। त्यो नारा व्यवहारमा लागू गर्न नसके अर्को चुनावमा जनताले उनलाई हटाइहाल्छन्।
धेरैको आशा छ- इमरानको चुनावी अभियानमा ‘मुछिएको’ को सेनाले अर्को चुनाव आउनुअघि नै अरू धेरै प्रधानमन्त्रीलाई झैं उनलाई पनि ‘आउट’ पार्न ‘बाउन्सर’ फाल्ने छैन।