राष्ट्रियसभा सदस्यहरूले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडितलाई तत्काल राहत र विस्थापित परिवारलाई पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरूले मुलुकका विभिन्न स्थानमा वर्षासँगैको बाढी पहिरोका कारण ठूलो धनमालको क्षति हुनुको साथै केहीले ज्यान गुमाएको र कयौं विस्थापित भएकाले तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा जिल्ला विभिन्न स्थानमा बाढी र पहिरोका कारण केहीको मृत्यु भएको र कयौं परिवार विस्थापित भएको भन्दै पीडितलाई राहत र विस्थापितको पुनर्स्थापनामा सरोकारवाला निकायले चासो नदिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।
प्रदेश, संघ र स्थानीय तहबीच समन्वय हुन नसक्दा पीडितले राहत नपाएको र विस्थापितहरूलाई सुरक्षित आवासको व्यवस्था मिलाउन नसकिएको भन्दै सम्बन्धित निकायबीच समन्वय गर्न आग्रह गरे।
राष्ट्रियसभा सदस्य सिंह बहादुर विश्वकर्माले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित साँधीखोला पुल बाढीले बगाउँदा नजिकका गाउको सम्पर्क विच्छेद भएको भन्दै सो स्थानमा तुरुन्तै बेलीब्रिज पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रियसभा सदस्य युटोल तामाङले मुगुको आइतबार किमनी गाउँमा भीषण आगलागी भएको भन्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे। उनले जिल्लामा आवश्यक सडक सुविधा पुर्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले खेती लगाउने समयमा तराईका किसानले युरिया, डिए पी लगायत मल उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। किसानलाई सहज सिँचाइ र ऋणको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे।
त्यसैगरी, खेमराज नेपाली प्रदेश नम्बर १ मोरङ जिल्लाको लेटाङस्थित एक स्कुलको पानी ट्यांकीमा विषादी मिसाउने अपराधीलाई तुरुन्तै पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग गरे। घटना भएको लामो समय भइसक्दा पनि अपराधी पत्ता लगाउन नसकिएको भन्दै उनले छानबिन र अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।