प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) जनकपुरधाम गएका छन्।
बिहान करिब १० बजेतिर प्रधानमन्त्री ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरू रघुवीर महासेठ, मातृका यादवसहित हेलिकोप्टरमार्फत् जनकपुरधाम गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सेतोपाटीलाई जानकारी दिए।
बिहान ११ बजे प्रधानमन्त्रीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि यो समाचार तयार पार्दासम्म कार्यक्रम सुरू भएको छैन।
प्रधानमन्त्रीको स्वागतका लागि जनकपुरमा स्वागतद्वार पनि बनाइएको छ। प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री धनुषाको बरमझियामा आयोजित शहीद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यक्रम रहेको अर्यालले जानकारी दिए।