नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियू र अखिल क्रान्तिकारीबीचको एकता अन्तिम चरणमा पुगेको छ।
दुवै संगठनबीच नाम अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू राख्ने सहमति भएको छ। तत्कालिन एमाले भातृ संगठन अनेरास्वियुले ‘यु’ ह्रस्व लेख्ने गरेको थियो। तर अब भने नाममा ‘यू’ दीर्घ राख्ने समझदारी जुटेको छ।
त्यस्तै केन्द्रीय समिति ४९९ सदस्यीय बनाउने समझदारी उपसमितिले जुनाएको एक नेताले जानकारी दिए।
४ सय ९९ सदस्यीय बनाउँदा एमाले भातृ संगठन अनेरास्ववियुले केही केन्द्रीय सदस्य थप गर्नेछ।
अंग्रेजी नाम भने नेकपा माओवादी भातृ संगठन अखिल क्रान्तिकारीले प्रयोग गर्ने ‘All Nepal Independent Student union’ राख्ने समझदारी भएको छ। अनेरास्ववियुले अंग्रेजीमा ‘Free Student Union’ लेख्दै आएको थियो।
दुई विद्यार्थी संगठन एकताको जिम्मा पाएका एक नेताले विषयहरु साँघुरिएको र नेतृत्वको विषय बाँकी रहेको बताए।
अनेरास्ववियुको अध्यक्ष नविना लामा सांसद रहेकाले रञ्जित तमाङको नाममा समझदारी हुन सक्ने ती नेताले बताए।
‘लिडरसिपको विषय केन्द्रबाट टुङ्गो लाग्छ’, ती नेताले भने, ‘नविनाजीको कार्यकाल पूरा भएको छ। छलफल भैराखेको छ। अध्यक्ष नभनेर महाधिवेशन आयोजक समिति संयोजक भनिने भएकाले समस्या छैन।’