मुलुकी एेन संशोधन गर्न बनेको देवानी कानुनले कुनै व्यक्ति १२ वर्षसम्म विनासूचना हराए मृत्यु भएको मानिने व्यवस्था गरेको छ।
यो कानुन भदौ १ देखि लागू हुँदैछ।
लामो समयदेखि सम्पर्कमा नआउँदा अंशबन्डा र सम्पत्ति हस्तान्तरणमा समस्या हुने गरेको थियो। अब १२ वर्ष सम्पर्कविहीन व्यक्ति जीवित रहेको प्रमाण फेला नपरे मृत्यु भएको मानिनेछ।
त्यस्तै, ८० वर्ष उमेर पूरा पुगेका व्यक्ति हराएर पाँच वर्षसम्म फेला नपरे मृत्यु भएको मानिने पनि नयाँ कानुनले व्यवस्था गरेको छ। युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको चार वर्ष नफर्किए पनि मृत्यु भएको मानिने छ। हवाइजहाज, पानीजहाज वा सवारी साधन दुर्घटनामा परेर तीन वर्ष नफर्किए मृत्यु मानिने छ।
यसरी बेपत्ता तथा मृत्यु भएका व्यक्तिको परिवारले निवेदन दिए अदालतले न्यायिक घोषणाको आदेश गर्नेछ। मृत्यु भएका व्यक्ति फर्केर घोषणा बदर गर्न निवेदन दिए अदालतले जाँचबुझ गरी बदर गर्नेछ। त्यस्तो व्यक्तिको कानुनबमोजिमको अधिकारमा समेत कुनै असर पर्ने छैन।
त्यस्तै श्रीमान् छाडेर हिँडेको पत्नी फर्केर आउँदा पुन: विवाह गरेको देखिए वैवाहिक सम्बन्ध कायम हुने छैन।