सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हालेका छन्।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि बिदामा बसेपछि दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन्।
प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाइ विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि उनी आइतबारदेखि बिदामा बसेका थिए।
जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आइतबारदेखि सम्हालेका सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
सर्वोच्च अदालतमा आइतबार ५७ थान मुद्दा पेसीमा चढेको थियो। त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताए।