प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक पार्टीहरू विचारमा प्रतिस्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिजाउँदै हिँडेको आरोप लगाएका छन्।
२१ औं तुलसीलाल स्मृति दिवसको अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
‘यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमल्याएका छन्।’
सरकार नेपालीका सुखका चाहना पूरा गर्न प्रयासरत रहेको पनि उनले बताएका छन्।
प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ । उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्यायसहितको प्रबन्ध गरिन्छ।’
समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले समान अधिकार,समान अवसर,समान सुरक्षा र समान आत्मसम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ ।
‘सामाजिक न्यायलाई स्थापित गर्दै नेपालीका सुखका चाहना पूरा गरिन्छ’, उनले भने।
प्रधानमन्त्री ओलीले तुल्सीलाललाई वाम आन्दोलनका पुराना नेताको रूपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न उनको महत्त्वपूर्ण योगदान रहेको बताए।