सर्वोच्च अदालतमा प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीले ‘राजीनामा’ सम्बन्धी समाचारको खण्डन गरेका छन्।
जोशीको निजी सचिवालयमार्फत् जारी विज्ञप्तिमा ‘कामु प्रधान न्यायाधीशबाट राजीनामा आउँदै’ तथा सत्तारुढ दलबाट राजीनामाका लागि सन्देश जस्ता’ समाचार भ्रामक र कपोकल्पित भएको उल्लेख छ।
जोशीले राजीनामा दिने हल्लाबीच उनको सचिवालयले यससम्बन्धी समाचारहरुको खण्डन गरेको हो। संसदीय सनुवाइका नेकपा नेताहरुले जोशीलाई राजीनामा मार्फत् 'सेफ ल्याण्डिङ'को सुझाव दिदैँ आएका छन्। सत्तारुढ नेकपा र संघीय फोरमले जोशीलाई सुनुवाइबाट अनुमोदन नगर्ने जनाइसकेका छन्।
जोशी हाल सुनुवाइ समितिको निर्णयको प्रतिक्षामा रहेको सचिवालयले जनाएको छ।
उनले सबै प्रमाणपत्र सुनुवाइ समितिमा पेश गरेको उल्लेख गर्दै विज्ञप्तिमा शैक्षिक योग्यता विषयमा भ्रममा नपर्न आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘राज्यको साधिकार निकायमा छलफलपछि निर्णय नभएको अवस्थामा संसदीय सुनुवाइ क्रममा समितिमा प्रस्तुत समेत नभएको उजुरी तथा सुनुवाइमा नउठेको प्रश्नलाई आधार बनाएर कपोकल्पित विषय उठान हुनु आफैँमा अस्वभाविक विषय हो। यसले संसदीय सुनुवाइलाइ नै प्रभावित पार्न खोजिएको त हैन भन्ने संशय पैदा भएको छ।’
विज्ञप्तिमा १२ वर्ष नेपाल ल क्याम्पसमा अध्यापन गर्दा नउठेको तथा सर्वोच्चको न्यायाधीश हुँदा समेत नउठेको प्रश्नमा अहिले भ्रम फैलाउन खोजिएको जनाइएको छ।
‘एक जना प्रस्तावित प्रधान न्यायाधीशको नियुक्तिलाई मात्र प्रभावित पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिका माथिको प्रहार जस्तो देखिएको छ’, समाचार खण्डन गर्दै सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।