प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरूले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सांसदहरूले यस्तो माग गरेका हुन्।
कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र कानूनको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन्।
उनले भनिन्,‘वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाइरहेको छ, अधिनायवादी र अपहरणवादी शैलीमा आफ्ना क्रियाकलापहरू अघि बढाइरहेको छ, पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीहरू के बोल्ने र के नबोल्ने ? भन्नेबारे जानकार छैनन्।’
सरकारकै मन्त्रीहरूले नारीहरूको अस्मितामाथि प्रश्नचिन्ह खडा गरिहरको आरोप लगाउँदै उनले थपिन्,‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली चेलीहरूले शरीर सुम्पेरमात्रै मार्कसिट प्राप्त गर्छन् भन्नेजस्ता गैर–जिम्मेवार र अपमानपूर्ण अभिव्यक्तिहरूको सरकारले कि पुष्टि गर्नुपर्यो, होइन भने जथाभावी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’
त्यस्तै, सांसद लक्ष्मी परियारले सरकारले कानून बमोजिम कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिएकी छिन्।
उनले भनिन्,‘सरकार, सरकारका मन्त्री र सरकारका आसेपासेहरूले कानून तथा नियमको ख्याल नगरी नारीको अस्मितामाथि धावा बोल्ने काम गरिहरको छन्, यो हामीलाई स्वीकार्य छैन, २१ शताब्दीको महिलाका प्रगतीहरूलाई ओझेलमा पार्ने र हेपहा मनस्थितिले आएका गैर-जिम्मेवारपूर्ण अभिव्यक्तिहरूको हामी घोरभर्त्र्सना र विरोध गर्दछौं, माफी र मन्त्रीको राजीनामाले मात्रै पुग्दैन, उनलाई कानून अनुसार कडा सजाय हुनुपर्छ।’
कार्यक्रममा अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएकी छिन्।
उनले भनिन्,‘बंगलादेशमा पढ्न गएका नारीहरूले फेसबुकमा लेखेका छन्, हामी पढ्न आएका हौं, अस्मिता बेच्न आएका होइनौं, दोषीलाई कारबाही होस्, यस्ता शब्दहरूले हामीलाई पोलिरहेको छ, बंगलादेशका प्राध्यापकमाथि र नेपाली चेलीहरूमाथि उठेका प्रश्नहरूको उचित जवाफ सरकारले दिनुपर्छ, यदि जवाफ दिन नसकेको खण्डमा हाम्रो आन्दोल उचित उत्तर नपाएसम्म जारी रहनेछ।’