बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने छात्राहरूको अस्मितामा आँच आउने गरी अशोभनीय अभिव्यक्ति दिएको भन्दै कांग्रेस संसदीय दलले कानूनमन्त्री शेरबहादुर तामाङलाई बर्खास्त गर्न माग गरेको छ।
सोमबार प्रतिनिधिसभाको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल र राष्ट्रियसभाकी सरिता प्रसाईंले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमार्फत् कानूनमन्त्री तामाङलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष माग गरेका हुन्। तामाङले बंगलादेशमा पढ्न जाने छात्राहरूले सर्टिफिकेटका लागि आफूलाई बेच्न बाध्य हुनुपर्ने भन्दै भाषण गरेका थिए। त्यसको चर्को विरोध भएपछि उनले माफी मागेका थिए।
कांग्रेसले भने माफीले मात्र नपुग्ने भन्दै उनको बर्खास्तगी माग गरेको हो। 'बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरूको अस्मितामा आँच आउने गरी अशोभनीय अभिव्यक्ति दिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको कार्यप्रति हाम्रो गम्भीर रूपमा ध्यानाकर्षण भएको छ,' उक्त विज्ञप्तिमा उल्लेख छ, 'उक्त कार्यप्रति हामी क्षोभ प्रकट गर्दछौं र निन्दा गर्दछौं । तसर्थ कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री समक्ष हामी जोडदार माग गर्दछौं।'
सार्क क्षेत्रका छिमेकी मित्रराष्ट्र बंगलादेशसँग नेपालको निकटतम् सम्बन्धमा समेत यस्तो कार्यले प्रतिकूल प्रभाव पार्ने पनि विज्ञप्ति उल्लेख छ।