नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेका छन्।
बंगलादेश पढ्न जाने नेपाली छात्राको अस्मितामा प्रहार हुने गरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै पौडेलले 'कानून मन्त्रीले माफी मागेर मात्रै हुँदैन, राजीनामा नै दिनुपर्छ' भने।
कानूनमन्त्रीले निर्लज्ज अभिव्यक्ति दिएको उनले बताए। सरकारले अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ छ।
स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा तरुण दलमाथि सरकारले आक्रमण गरेकोमा पनि उनले विरोध गरे। नेपालगञ्जमा पत्रकारहरूसँग सोमबार कुराकानी गर्दै पौडेलले माथेमा आयोगको सुझावअनुसार डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरे।