देशमा केही दिनयता विकसित भैरहेको राजनीतिक परिस्थितिका कारण भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ७ दिने विदेश भ्रमण स्थगित गरेका छन्।
उनी आजै सिंगापुरका लागि उड्ने कार्यक्रम थियो। कांग्रेसको केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत् सभापति देउवाको विदेश भ्रमण स्थगित भएको जानकारी गराएको छ।
कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण उहाँले भ्रमण स्थगित गर्नु भएको जानकारी गराइन्छ।’
चिकित्सा शिक्षा अध्यादेशलाई कानूनी रूप दिन माग गर्दै अनसन बसिरहेका डाक्टर केसीसँग सरकारले वार्ता समेत नगरेको, केसीलाई लिएर नागरिक समाज आन्दोलित भैरहेका कारण भ्रमण स्थगित गरेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
‘सिंगापुर र त्यतैबाट जापान जाने कुरा थियो। पार्टीका कार्यक्रममा सहभागी हुने र त्यहीँ बेला उपचार पनि गराउने भन्ने थियो। तर डाक्टर केसीसँग सरकारले वार्ता गरेको छैन। राजनीतिक परिस्थिति ठिक नभएपछि एक महिनाअघि तय भएको विदेश भ्रमण उहाँले स्थगित गर्नुभएको हो,’ उनले भने।