प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन्।
त्रिभुवन विश्व विद्यालयको ५९ औं वार्षिक दिवस बैठकलाई आज किर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरूले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरू बढेको प्रधानमन्त्रीको भनाइ छ। पढेका मान्छे बेरोजगार नहुन् भनेर सरकारले क्षेत्रगत रूपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको प्रधानमन्त्री ओलीले बताए।
‘विकास र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रूपमा जनशिक्तको माग र आपुर्ति हुने अवस्थाको अध्ययन भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना अयोगले यो अध्ययन गर्दैछन्। यसको प्रतिवेदन आएपछि हामीले कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका आउँछ।’
विश्व विद्यालय अनुसन्धान केन्द्र भएकोले देशलाई आवश्यक पर्ने अनुसन्धान यही संस्थाबाट हुनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। उहाँले विश्व विद्यालयलाई अनुसन्धानमा अब्बल बनाउन निर्देशन दिएका छन्।
देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेको र यो क्षेत्र निर्वाहमुखी मात्र भएकोले यसलाई थप व्यवसायिक बनाउनुपर्ने प्रधानमन्त्रीको धारणा छ। प्रधानमन्त्री ओलीले भने,‘ ‘कृषिलाई आधुनिकीकरण र मेसिनिकरण गरेर उत्पादकत्व वृद्धि गर्नु पर्दछ । यसका लागि विश्व विद्यालयले पनि त्यसै अनुसारको नीति तय गर्नु पर्दछ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्व विद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान पनि गरेका छन्।