नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शान्तपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको बताएको छ।
शनिबार राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि निधेषाज्ञा तोड्न खोज्दा तरुण दल अध्यक्ष जीतजंग बस्नेतसहित तरुण कार्यकर्ता प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए।
तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले ‘अधिनायकवादी, तानाशाही सरकारले अन्धाधुन्ध लाठी र अश्रु ग्यास प्रहार’ गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रहरीले हानेको लाठीले अध्यक्ष बस्नेतसहित दर्जनबढी तरुण कार्यकर्ता घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारको दमन र हस्तक्षेपबाट विचलित नहुने चेतावनी दिँदै तरुण दलले सरकारको रवैयाको विरोधमा आइतबार ७७ जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने बताएको छ।
प्रहरी र तरुण दलका कार्यकर्ताबीच झडप हुँदा शनिबार दर्जन बढी प्रहरी र तरुण दलका कार्यकर्ता घाइते भएका छन्। कांग्रेसले ओली सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेसँगै तरुण दल सडकमा उत्रिएको थियो।
यसैबीच नेपाल प्रेस युनियनका सचिव खिला कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनमा रहेका युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको उल्लेख गरेका छन्।
समाचार संकलन गर्न पुगेका पत्रकारलाई दमन गरेको घटनाबाट सरकारको अधिनायकवादी चरित्र उदांगो भएको कार्कीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारविरुद्ध तरुण दलले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा झडप हुँदा शिवाकोटीको हातमा चोट लागेको थियो।