२२ दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीले राखेका चिकित्सा शिक्षा क्षेत्र सुधारको माग पूरा गर्न सरकारलाई दबाब दिन शनिबार राजधानीको माइतीघर मण्डलामा बेलुन जुलुस प्रदर्शन सुरू भएको छ।
सोलिडारिटी प्रोफेसर गोविन्द केसी अभियानले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, चिकित्सक, अभिनेत्री तथा विद्यार्थीहरू सहभागी छन्।
हातमा बेलुन बोकेका डाक्टर केसीका समर्थकहरू माइतीघरदेखि बानेश्वरसम्म जाने र बानेश्वरमा कोणसभा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। यसअघि उनीहरूले छाता जुलुस गरेका थिए।
कोणसभामा पूर्वप्रधानन्याधीश सुशीला कार्की, नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत बोल्ने छन्।
वर्तमान सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका डाक्टर केसीका समर्थकहरूले ‘डाक्टर केसीको जीवन रक्षा गर, डाक्टर केसी एक्ला छैनौं हामी तिम्रो साथ छौं, माफियाका ताँती ओली सरकारका साथी, एक दुई तीन चार हामी मान्ने छैनौं हार, यो सरकार कस्तो छ श्री ३ जस्तो छ, मेडिकल माफियाहरू होसियार’ जस्ता नाराहरू लगाएका छन्।
नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको अहंकारको प्रतीकको रूपमा बेलुन जुलुस गरिएको हो। बेलुनमा भरिएको हावा सियोले कोपेर फुटाउने कार्यक्रम पनि रहेको छ।
;सबै तस्बिरहरू : निशा भण्डारी