उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले डा. गोविन्द केसीलाई काठमाडौं ल्याउँदा जुम्लामा सरकारले गोली चलाएको भन्ने झूटो भएको दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले जुम्लामा डा. केसीलाई पक्राउ नगरी केसीको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौं ल्याएको जानकारी गराए।
सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न लागिपरेको उनले बताए।
उनले पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तेस्तै ल्याउनुपर्ने माग अनुचित भएको बताउँदै संसद्मा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद हो भनेका छन्।
उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य विधेयक संसद्मा छलफल भई यसमा भएका समस्या समाधान हुनुपर्नेमा जोड दिँदै जननिर्वाचित संसद्मा विधेयकका बुँदामा आवश्यक संशोधन प्रस्ताव राखी छलफल प्रकियाबाट विधेयकमा रहेका विवाद टुंग्याउनुपर्ने बताए।
उनले स्वास्थ्य विधेयक सम्बन्धमा वार्ता गर्न वर्तमान सरकार खुला रहेको बताउँदै यसलाई विधि र प्रकियाबाट समाधान गर्नुपर्ने बताए।