प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन्।
राजपाका नेतासँग बिहिबार साँझ बालुवाटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन्।
तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले ‘तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने’, बताएका हुन्।
सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त पार्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले भने, ‘यी सबै समस्या समाधानका लागि राजनीतिक रूपमा योजना बनाऔं र कार्यन्वयन गरौं।’
अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकीकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराए।
राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका थिए। प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका मतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिए। ‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन्। त्यसमा तपाईंहरुले पनि पुन विचार गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने
संविधान संशोधनका बारेमा नेताहरुले राखेका जिज्ञासामा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने बताए। ‘संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं। देश विकासमा लागौं,’ प्रधानमन्त्री ओलीले भने।
राजपामा नेताहरुले तराइको बाढी, दुई वर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्दा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान संशोधनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए।
छलफलका लागि नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र केशव झा बालुवटार गएका थिए।
नेताहरुले साँझ ८ बजेदेखि प्रधानमन्त्रीसँग करिब डेढ घण्टा छलफल गरेका थिए।