प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्ला घटनाबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक ८ दिन स्थगित गरिदिएका छन्।
नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयकको प्रावधान र डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थालाई लिएर असार ३२ गते संसद अवरोध गरेको थियो। कांग्रेसले विधेयकमा विरोधको सूचनासमेत दिएको छ।
बिहीबार भने कांग्रेस चिकित्सा शिक्षा विधेयकलाई कार्यसूची हटाए संसद चल्न दिने जनाएको थियो। सभामुख महराले विधेयकको विषय हटाएर कार्यूची प्रकाशित गराएका थिए। तर त्यसबीचमा जुम्लामा डाक्टर केसीलाई काठमाडौं ल्याउन प्रहरीले धरपकड गरेपछि कांग्रेस आक्रोशित भएको हो।
‘चिकित्सा विधेयक कार्यसूचीबाट हटेपछि संसद चल्न दिने भनेका थियौं’, कांग्रेस सांसद गगन थापाले भने, ‘जुम्लाको घटनापछि मिनेन्द्र रिजाल, बालकृष्ण खाँण र म सभामुखको कार्यकक्षमा गयौं र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न सक्दैन भन्यौं।’
सभामखु महराले प्रधानमन्त्री बाहिर रहेको जवाफ फर्काएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्न बिहिबार पोखरा पुगेका छन्।
‘हामीले प्रधानमन्त्रीलाई कुर्छौं भन्यौं’, थापाले सेतोपाटीसँग भने, ‘सभामुख कार्यकक्ष छाडेर जानुभयो। लगत्तै संसद बैठक ८ दिन स्थगित भएको सूचना आयो।’
प्रतिनिधि सभा छाडेर प्रदेश सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै हिँडेकोमा थापाले आश्चर्य प्रकट गरे।
‘प्रदेशमा मुख्यमन्त्रीले सम्बोधन गर्ने हो’, थापाले भने, ‘प्रतिनिधिसभाले चुनेको प्रधानमन्त्रीले होइन।’
संसदको कार्यव्यवस्था परामर्श समितिका सदस्य नेकपा सांसद भानुभक्त ढकालले भने आफूहरूले चिकित्सा शिक्षा विधेयक नआएसम्म संसद अगाडि बढ्न नहुने अडान राखेको बताए।
‘विधेयक कार्यसूचीबाट फिर्ता हुनु हुँदैन, अगाडि बढाउनुपर्छ भनेर सभामुखलाई भनेका हौं’, ढकालले सेतोपाटीसँग भने, ‘कांग्रेसले चिकित्सा शिक्षा विधेयक नराखौं भनेको हो।’
संसद सचिवालयका सचिव गोपालनाथ योगीले चिकित्सा शिक्षा विधेयकको विषयमा भएको विवादका कारण संसद नचलेको बताए। संसदमा बिजनेसको अभाव भएकाले ८ दिनसम्म संसद स्थगित भएको उनले बताए।
‘चिकित्सा विधेयकका कारण संसद चल्ने अवस्था छैन’, योगीले भने, ‘अन्य विधेयक पनि छैनन्। संसदमा पेश हुने अवस्था नभएपछि ८ दिन स्थगित भएको हो।’