प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधान उल्लंघन गरिरहेकाले त्यसको प्रतिवाद गर्न साना दुई दलसँग प्रस्ताव गरेका छन्।
बिहीबार नयाँ बानेश्वरमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरूसँग भेटेर सभापति देउवाले सरकारविरुद्ध उभिन आग्रह गरेका हुन्।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारले संविधान उल्लंघन र जनहित विपरीत कार्य गरिरहेको देउवाको आरोप छ।
कांग्रेसले सरकारविरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति देउवाले नयाँ शक्तिका संयोजक भट्टराईलाई एउटै मोर्चामा उभिन आग्रह गरेको बताए।
कांग्रेसले देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुबहु ल्याउन माग गरिरहेको छ भने सरकारले उक्त अध्यादेश विस्थापन गर्दै चिकित्सा शिक्षा विद्येयक संसदमा लगिसकेको छ।
यस्तै सभापति देउवाले राजपाका नेता राजेन्द्र महतोसँग पनि भेट गरेका छन्।
देउवाको प्रस्तावमा संयोजक भट्टराई र नेता महतोले पार्टीमा छलफल गरी निर्णयमा पुग्ने जवाफ दिएको खाँणले बताए।
मंसिरमा भएको प्रतिनिधिसभा/प्रदेशसभा सदस्य चुनावमा कांग्रेसले गोरखामा भट्टराईसँग र प्रदेश २ का विभिन्न ठाउँमा राजपासँग चुनावी गठबन्धन गरेको थियो।