राष्ट्रियसभाले पूर्व सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
आलमको असार २९ गते बेलुका हृदयरोगको उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको थियो।
आलम २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपालको तर्फबाट रौतहट क्षेत्र नम्बर २ का संविधान सभामा निर्वाचित भएका थिए।
उनी हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध रहेका थिए।
राष्ट्रियसभाले पूर्व राज्यमन्त्री आलमको निधनको शोकमा १ मिनेट मौनधारणा समेत गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । शोक प्रस्ताव पारित गरेपछि संसदमा अन्य विषयमा छलफल नगरी बैठक स्थगित गर्ने प्रचलन रहिआएको छ ।