परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यता देखिएको जानकारी दिएका छन्।
भारतीय पक्षले गरेको प्रारम्भिक अध्ययनमा नारायणी नदीमा ‘इन ल्याण्ड वाटर वे’ निर्माण हुन सक्ने देखिएको ज्ञवालीले बताए।
परराष्ट्र मन्त्रालयमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले २ वर्षभित्रमा तीन सय मेट्रिकटन जहाज नेपाल सक्ने बताए।
‘सबै काम सही ढंगले अगाडि बढे ३ सय मेट्रिकटन क्षमताको जहाज गण्डक ब्यारेजसम्म आउने छ’, ज्ञवालीले भने, ‘यसमा प्राविधिक सहयोग भारतले गर्नेछ।‘
नेपाल र भारतको सहसचिवस्तरमा पानी जहाज सञ्चालनको विषयमा छलफल भैरहेको छ।
नेपालका तर्फबाट जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासे भारतीय पक्षसँगको छलफलमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ‘इन ल्याण्ड वाटर वे’ निर्माणको सम्झौता भएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सागरदेखि सगरमाथा’ को नारासम्म दिएका थिए।
त्यस्तै, रक्सौल काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने ज्ञवालीले बताए।
‘एमओयुको ड्राफ्ट तयार भएको छ। परामर्श र प्रतिक्रिया लिने काम भैरहेको छ’, ज्ञवालीले भने, ‘छिट्टै सम्झौतामा हस्ताक्षर हुनेछ।‘