नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकका रुपमा संसदमा प्रस्तुत गर्नु नै यो क्षेत्रको बेथिति अन्त्य गर्ने हल भएको बताएका छन्।
'मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो। डा. केसीसँगको वार्ता, सरोकारवालासँगको छलफल, उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन एवं आमनागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेकसम्मत हल हुने मेरो दृढ निष्कर्ष छ,' देउवाद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
केसीका माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै कांग्रेसले सोमबार संसद बैठक अवरुद्ध गरेका बेला सभापतिको विज्ञप्ति आएको हो।
अनशनरत डा. केसीको जीवनमा तलमाथि हुने परिस्थिति सरकारले नियतवश निर्माण गरिरहेको आरोप लगाउँदै देउवाले कुनै अिप्रय घटना भए सम्पूर्ण दोष सरकारको हुने बताएका छन्। यसले चिकित्सा शिक्षा सुधार अभियानमा गम्भीर घात हुने उनले चेतावनी दिएका छन्।
डा. केसी चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै १७ दिनदेखि जुम्लामा आमरण अनशनरत छन्। यो उनको १५औँ आमरण अनशन हो।
सभापति देउवाले केसीको स्वास्थ्य बिग्रँदै गएका बेला पनि सरकार वार्तामा गम्भीर नभएको बताएका छन्। चिकित्सा शिक्षा सुधारका लागि अनसनरत केसीसँग वार्ता गरी जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको उनले स्मरण गराएका छन्।
शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउने उनले उल्लेख गरेका छन्।