नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सोमबार छुट्टै भेला बोलाएको छ।
दुबै गुटका नेता तथा केन्द्रीय सदस्यलाई राजधानीको चक्रपथस्थित ढुंगेधारमा बिहान ११ बजे भेला बोलाएको हो।
महासमितिको बैठक तथा पार्टीभित्रका समग्र विषयमा हुने छलफलमा सिटौला पनि सहभागी हुने कार्यक्रम तय भएको छ। सिटौलाको नेतृत्वमा कांग्रेसमा भिन्नै समूह सक्रिय छ।
भेलामा नेताहरु पौडेल, सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशीलगायत सहभागी हुने छन्।
‘पार्टीमा झ्यागिंएको गुट उपगुट कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे भेलामा छलफल हुन्छ’ कांग्रेस नेता अर्जुननरसिंह केसीले सेतोपाटीसँग भने, ‘गुटरहित कांग्रेस बनाउन हामी लागिरहेका छौं।’
सभापति शेरबहादुर देउवाले आइतबार आफू निकटका नेताहरुसँग छुट्टै भेला गरेका थिए। देउवाले बैठक गरेको भोलिपल्ट पौडेल र सिटौला समूह पनि छुट्टै भेलामा जुटेको हो।