प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसदहरूलाई देश र जनताको हितमा समर्पित हुन निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले संविधानले महिलाहरूलाई विशेष अधिकारको व्यवस्था गरेको उल्लेख गर्दै त्यसै अनुसारको व्यवहार महिला सांसदहरूबाट हुने विश्वास पनि व्यक्त गरे।
अखिल नेपाल महिला संघले पार्टीका प्रनिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार मर्यादित र संयमित ढंगले पार्टीका महिला सांसदहरू अघि बढ्ने पार्टीको अपेक्षा रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले सांसदहरूले झूट नबोल्ने परिकल्पना गरेकाले नै उनीहरूलाई माननीयको सम्मान प्रदान गरिएको पनि स्मरण गराए।
प्रधानमन्त्री ओलीले नेपालको सामाजिक आन्दोलनकी धरोहर योगमाया न्यौपानेको स्मरणमा आयुर्वेद अस्पताल स्थापना गर्ने योजना रहेको पनि बताए।