सरकारले अविरल वर्षासँगै आइपर्न सक्ने सम्पूर्ण विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
बिहिबार गृहमन्त्रालयमा बसेको विपद् व्यवस्थापन र न्यूनीकरणसँग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री राम बहादुर थापाले विपद्को तत्काल सम्बोधन गर्ने गरी सम्पूर्ण रूपले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो।
बैठकमा सहभागी विपद् जोखिम न्यूनीकरण महाशाखाका सहसचिव केदार बहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसँग आवश्यक समन्वय गरी आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय भएको जानकारी दिए।
सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेको भन्दै उनले जस्तोसुकै विपद्का लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको बताए।
मन्त्रालयले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी र पूर्व चेतावनीयुक्त सन्देश दिइ सर्वसाधारणलाई सर्तक र सचेत बनाउने कार्यक्रम पनि गर्ने तयारी गरेको जानकारी दिए।
राहत सामग्री वितरणमा भने एकद्वार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अपिल गरेको छ।
मन्त्रालयले केन्द्रमा गृहमन्त्रालय, प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र स्थानीय तहमा जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरणमा सहयोग पुर्याउन तथा अनावश्यक चन्दा संकलन गर्ने /गराउने काम नगर्न तथा त्यसतर्फ सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
केही दिनयता मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट मानवीय तथा भौतिक सम्पत्तिको क्षति हुनुको साथै जनजीवन प्रभावित भएको छ।
गएरातिको वर्षाबाट भक्तपुरका अधिकांश स्थान डुबानमा पर्नुको साथै काभ्रे, बनेपा लगायतको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। त्यसैगरी राजधानी बाहिरका पहाडी र तराईका जिल्ला पनि प्रभावित भएका छन् ।