सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डाक्टर गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारेका हुन्।
डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाडौं आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे।
‘तपाई काठमाडौं आउनुस् । वार्ता गर्न सरकार तयार छ। अनसन बसिरहनु पर्दैन’, उनले भने।
जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाडौं र कहिले जुम्ला पुगेर अनसन बस्न नपर्ने बताए।
‘गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौं। सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रसारण गर्दै वार्ता गरौं । यसका लागि अनसन तोड्नुस, स्वस्थ हुनुस्,’ भट्टारईले भने।
जायज मागलाई सकारात्मक रूपमा लिन सकिने भए पनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोपसमेत लगाए।
आक्रोषित हुँदै भट्टराईले भने,‘फलानो मेडिकल कलेजलाई सम्बन्धन देऊ, ढिस्कानोलाई नदेऊ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ? देशभर नेपाली कांग्रेसका नेताहरूले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरूको कलेजले सम्बन्धन पाउने बेलामा अनसन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?’
‘मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरू चाहिँ राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाहिँ माफिया ?’ भट्टराईले भने।
अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ। संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताए।
माथेमा प्रतिवेदन सुझावमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उनको भनाइ छ।
नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाएका छन्।
‘गोविन्द केसीलाई लडाएर अनसन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने ? अरुको जीवनमाथि किन खेलवाड ? सक्नुहुन्छ भने तपाईंहरू आफैं अनसन बस्नुस्’, उनले चुनौती दिए।