जुम्लामा १२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले सरकार तयार भए तत्काल वार्ता टोली पठाउने बताएका छन्।
मंगलबार डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी अधिकारीले वार्ताको पहल गर्दा पनि आफू आउन नचाहेको हल्ला फिजाएको भन्दै सो कुरा असत्य भएको दाबी गर्दै सरकार तयार भए तत्काल टोली पठाइने बताए।
'माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरूले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले सरकारले संवेदनहीन र गैरजिम्मेवार भएको बताउँदै प्रेस विज्ञप्तिमार्फत् भनेका छन्, ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने छौं।’
चिकित्सा शिक्षा ऐन सही रूपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरू हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरू राखी असार १६गतेदेखि अनसन बसेका छन्।
उनले दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडी तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी काम गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण समेत गराएका छन्।