प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो’ प्रधानमन्त्री ओलीले भने,‘पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत् लागू गर्छ । यसमा आत्तिनु पर्दैन।’
प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइ रहेको बताएका छन्।
‘बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन्’ प्रधानमन्त्री ओलीले भने। शान्ति प्रक्रियाका केही अवशेषहरू पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयक,गोविन्द केसी,उपकुलपति जस्ता विषयमा सांसदहरूलाई अडानका साथ कुरा राख्न आग्रह गरेका छन्।
‘हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नु पर्छ’ प्रधानमन्त्री ओलीले भने ‘अरु चाहिँ साउनको सिस्नु जस्तो फस्टाउने अनि हामीचाहिँ ओइलाउने हुन्छ ?’
प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली कांग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौती दिएका छन्।
‘विधि,विधान,कानून संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?’ प्रधानमन्त्रीको प्रश्न छ ।
काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने,एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘कुन विषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं’ प्रधानमन्त्री ओलीले भने।
संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र’ प्रधामन्त्रीले भने। नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने,विदेश पठाउनु पर्ने,हजारौं विगाहा जमिन खरिद गरेर ,भवन बनाएर चलाएका अस्पतालहरूलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
संस्कृत विश्व विद्यालयका उपकुलपति स्वीकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारे। संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीले बताएका छन्।
‘अहिलेका हल्लाले यो छानविन रोकिँदैन’ उनले भने।
निर्वाचन आचारसंहिता लागू भएपछिका राजनीतिक नियुक्तिहरू खारेज गरिएको प्रधानमन्त्रीले स्पष्ट पारे।
‘संस्थाहरूलाई राजनीतिक प्रदुषणबाट मुक्त गर्नका लागि यसो गरिएको हो’ प्रधानमन्त्री ओलीले भने। बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,नेता झलनाथ खनाल लगायतको उपस्थिति थियो ।