धनगढी उपमहानगरपालिकाको नगरसभाबाट आर्थिक २०७५/७६ का लागि एक अर्ब ७९ करोड ३४ लाख बजेट पारित भएको छ ।
यही असार १० गते बसेको तेस्रो नगरसभा बैठकमा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। आज बसेको नगरसभामा नगर प्रमुख नृपबहादुर बडूले कुल बजेटमध्ये चालुतर्फ ८० करोड ४९ लाख र पूँजीगततर्फ ९८ करोड ८५ लाख रहेको जानकारी दिए।
चालु खर्चमा समाजिक सुरक्षा कार्यक्रमका लागि १६ करोडसमेत समावेश गरिएकाले खर्च बढी देखिन आएको बडूले बताए।
बजेट नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यावसायिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधि तथा सञ्चार विकास, उद्यम र सहकारिताको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन र प्राकृतिक विपद् व्यवस्थापनलाई प्राथमिकतामा दिइएको छ ।
त्यसैगरी भादागाउँ होमस्टे कार्यक्रम र थारू संग्रहालयलाई थप प्रवद्र्धन गर्दै अघि बढ्ने, धनगढी विमानस्थलको आगमन स्थलमा स्वागतद्वार निर्माण गर्ने, नयाँ बस बिसौनी निर्माणका लागि सार्वजनिक निजी–साझेदारी ऐनअनुसार जानेलगायत कामलाई समेत प्राथमिकतामा राखिएको छ।
नगरसभामा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकालाई प्रदेशको नमूना नगर बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए। देश नयाँ परिस्थितिमा गएको अवस्थामा विकास र समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको मुख्यमन्त्रीले बताए।
नगर प्रमुख बडूले प्रस्तुत बजेट नीति कार्यक्रममाथि प्रकाश पार्दै नगरको विकासको काममा आफू पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे।