रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि करिब साढे दुई अर्बको बजेट ल्याएको छ ।
आइतबारदेखि सुरू भएको तेस्रो नगरसभामा नगरप्रमुख हरिप्रसाद अधिकारीले २ अर्ब ४९ लाख ८१ हजारको बजेट प्रस्तुत गरेका हुन्।
भौतिक पूर्वाधार विकाससहित पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकीकरण गरी बजेट ल्याइएको हो। बजेटमा चालू खर्चतर्फ ४३ करोड, पूँजीगत खर्चतर्फ १ अर्ब ५७ करोड ४७ लाख छुट्याइएको छ।
बजेटमा नगरभित्र बसोबास गर्ने ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा दिने, केन्द्र र प्रदेश सरकारबाट प्राप्त समानीकरण र राजस्व बाँडफाँटलाई वडाहरूमा सञ्चालन हुने कार्यक्रममा खर्च गर्ने, नगरलाई डुबान र हिलोमुक्त गराउने, बालमैत्री स्थानीय शासनको व्यवस्था गर्ने, दैनिक रूपमा उत्पादन हुने फोहोरबाट विद्युत उत्पादन गर्ने, अपांगता भएका व्यक्तिको उत्थान र बालश्रम न्यूनीकरण गर्दै विद्यालयबाट पढाई छाड्ने प्रवृत्तिलाई निरुत्साहित पार्न विशेष योजना ल्याइएको नगर प्रमुख अधिकारीले बताए।
चालू आर्थिक वर्षभन्दा ४५ दशमलव १३ प्रतिशतले बढाएर ल्याइएको बजेटमा सामाजिक सुरक्षातर्फ २ करोड, आरयुडिपीतर्फ २३ करोड र आइयुडिपीतर्फ १७ करोड थप गरिएको छ।
बजेटमा भौतिक पूर्वाधारतर्फ एक अर्ब ५७ करोड, पूर्वाधारतर्फ विनियोजित रकममध्ये सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्र निर्माणमा एक अर्ब ३९ करोड र वडास्तरीय अन्य योजनाका लागि ३ करोड ५० हजार विनियोजन गरिएको छ ।
बजेटमा कूल आयमध्ये आन्तरिक आयतर्फ कर, दस्तुर, शुल्क समेतबाट गरी ९ करोड, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १७ करोड, राजस्व बाँडफाँटबाट ८ करोड, सडक बोर्डबाट १ करोड, जग्गा रजिष्ट्रेशन बाँडफाँटबाट एक करोड आम्दानी हुने अपेक्षा लिइएको छ।
यस्तै, एशियाली विकास बैंकतर्फ अनुदानमा एकीकृत सहरी विकास आयोजनबाट २८ करोड तथा क्षेत्रीय सहरी विकास आयोजनातर्फ एक अर्ब र नगर विकास कोषको ऋण ५ करोड प्राप्त हुने बजेटमा प्रस्तुत गर्दै नगर प्रमुख अधिकारीले बताए ।
सभामा प्रस्तुत बजेटमाथि असार १५ गतेबाट छलफल सुरू हुनेछ ।