प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गरिसक्ने बताएका छन्।
सभामुख महराले संविधान अनुसार कानून, नियमावली र निर्देशिका तयार नहुँदा केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले पूर्ण अधिकारका साथ काम गर्न नसकेको पनि स्पष्ट पारे।
भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आइतबार चितवनको भरतपुरमा उद्घाटन गर्दै उनले कानून निर्माणको चापमा प्रतिनिधिसभा रहेको उल्लेख गर्दै अबको २ महिना करिब त्यसैमा केन्द्रीत हुने योजना समेत अघि सारे।
सभामुख महराले कानून निर्माणको काम सम्पन्न गरेर मात्रै स्थानीय र प्रदेश सरकारको कार्यक्षमता निर्क्यौल गर्न सकिने पनि स्मरण गराए।
सभामुख महराले करको दरभन्दा पनि दायरा वृद्धि गरेर अघि बढन स्थानीय, प्रदेश र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए।