प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागिएको बताएका छन्।
नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको आज वीरगञ्जमा उद्घाटन गर्दै उनले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने बताए।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले आगामी दिनमा निजामती सेवा ऐन तथा प्राविधिक सेवा ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिँदै ‘प्रदेश प्रहरी भनेको प्रदेशको शान्ति सुरक्षाका लागि हो, संघीय सरकारको सुरक्षाका लागि होइन,’ भने।
मुलुकमा संघीयता आइसकेपछि प्रादेशिक शान्ति सुरक्षाको जिम्मा संघीय सरकारको नभइ प्रदेश सरकारको भएकाले प्रदेश प्रहरी ऐन ल्याउन लागिएको हो, उनले भने, ‘यो प्रदेशको विकास र समृद्धिका लागि हुलाकी राजमार्ग र सुनकोशी डाइभर्सनको निर्माण हुनुपर्छ।’
मुख्यमन्त्री राउतले विकासको प्रचुर सम्भावना बोकेको यो प्रदेशमा लगानी गर्न दातृ निकायलाई आग्रह गर्दै प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गर्ने कार्य भएकाले यसबाट पत्रकारिता क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे।