नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको हेटौंडा भेला सकिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार २१ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार भेला सकिएको हो।
सरकारले प्रेस र न्यायालय, गैरसरकारी संस्था,कर्मचारी प्रशासन लगायत विभिन्न क्षेत्रमा नियन्त्रणकारी हस्तक्षेप गर्ने नीति लिएर सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिने घोषणापत्रमा उल्लेख छ।
'लोकतान्त्रिक गणतन्त्र, संघीयता, प्रेस स्वतन्त्रता स्वतन्त्र न्यायालय ट्रेड युनियन अधिकार विद्यमान कानुन अन्तर्गत रही निर्वाध पेशा व्यवसाय गर्ने अधिकार लगायत लोकतन्त्रले स्थापित गरेका मूल्यमान्यताको रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिने प्रण गर्दछ,' घोषणापत्रको दशौं बुँदामा लेखिएको छ।
कांग्रेस सरकारका निर्णयलाई निरन्तरता नदिएकोमा पनि जिल्ला सभापतिको भेलाले सरकारको आलोचना गरेको छ।
'कांग्रेस सरकारले भूकम्पपीडितलाई थप १ लाख दिने, क्यान्सर, मृगौला रोगी, स्पाइनल इन्जुरी लगायतका गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्ता स्वरुप ५ हजार उपलब्ध गराउने, ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने जस्ता जनहितकारी निर्णयलाई उल्ट्याउनुले यो सरकारको सामाजिक सुरक्षाप्रतिको संवेदनहिनतालाई उदाङ्गो पारेको छ,' घोषणापत्रमा उल्लेख छ।
त्यस्तै संविधान संसोधनलाई सत्ताको सौदावाजीका रुपमा सरकारले प्रयोग गरेको आरोप पनि जिल्ला भेलाले लगाएको छ।
'संशोधन गर्छौं भन्ने तथा अलमल्याइराख्ने र त्यसलाई सत्ताको सौदावाजीका लागि प्रयोग गर्ने प्रवृत्तिलाई मधेसमाथिको नयाँ षड्यन्त्रका रुपमा यो भेला ठहर गर्छ,' घोषणापत्रमा भनिएको छ।
तत्कालिन एमालेको राष्ट्रवाद सत्तामा पुगेपछि लम्पसारवादमा परिणत भएको पनि घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा सरकारले संघीयतालाई संकुचन गर्न स्थानीय र प्रदेशका अधिकार कुण्ठित हुने खालको नीति तथा कार्यक्रम र बजेट ल्याएको, बजेट विनियोजनमा विभेद गरेको आरोप लगाइएको छ।
कांग्रेसको आन्तरिक संगठन सुधारका लागि भातृ र शुभेच्छुक संस्थाहरूको समयमै अधिवेशन गर्न,पार्टीले यो वर्षलाई प्रशिक्षण वर्षको रुपमा मनाउन, महासमिति बैठकको समय र स्थान अबिलम्ब तोक्न र आन्तरिक सहअस्तित्व कायम गर्न पनि भेलाले पार्टीलाई आग्रह गरेको छ।
त्यस्तै स्थानीय तह देखि केन्द्र सम्म कांग्रेका प्रस्तुतिलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ।
हेर्नुहोस् हेटौंडा घोषणा पत्रको पूर्ण पाठ