चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच अहिले द्वीपक्षीय वार्ता भइरहेको छ।
राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा प्रतिनिधि मण्डलसहित दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो।
समकक्षी खछ्याङसँगको भेटवार्ताअघि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिएको थियो।
भेटवार्तामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री वर्षमान पुन, चीनस्थित नेपाली राजदूत लीलामणि पोखरेल लगायतको सहभागिता छ।
छलफलपछि विभिन्न समझदारीमा हस्ताक्षर हुने जनाइएको छ।
केही ठूला आयोजनामा सहयोग, चीनसँग थप नाका खुला गर्ने, तातोपानी र केरूङमा पक्की पुल बनाउने र यसअघि भएका सम्झौताको कार्यान्वयनका समीक्षा गर्न सचिवस्तरीय समिति बनाउने लगायतका विषयमा हस्ताक्षर हुने बताइएको छ।
प्रधानमन्त्री खछ्याङले समकक्षी ओलीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन्।
प्रधानमन्त्री ओली आजै बेइजिङबाट चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा आउने कार्यक्रम छ।
यसअघि बुधबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए।
भेटका क्रममा सीले चिनियाँ रेल केरूङ हुँदै काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए।
छ दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली १० गते स्वदेश फर्कने कार्यक्रम छ।