नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रण गरेको भन्दै त्यसका लागि एकजुट भएर सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।
मंगलबार हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको भेलामा उनले चुनावमा भएको पराजयबाट आफु विचलित नभएको पनि बताएका छन्।
'हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौति थपिएको छ। तर म विचलित भएको छैन। मैले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु,' उनले भने, 'यसका लागि सबै साथीहरुलाई एकजुट भई सहयोग गर्न म आव्हान गर्दछु।'
एउटा चुनाव हार्दैमा मैदानै हारेको अर्थ नलगाउन पनि उनले पार्टी कार्यकर्तालाई सुझाएका छन्।
'हामीले एउटा लडाई हारेका छौ। मैदान हारेका छैनौँ। यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन । र यो संविधानको सफल कार्यान्वयन पनि हामीले नै गरेका छौँ। यस अर्थमा हाम्रो विचारले जितेको छ। तसर्थ म साथीहरुलाई कमजोर मानसिकता होइन उच्च मनोबलका साथ अगाडी बढ्न आव्हान गर्दछु,' उनले भने।
पार्टीभित्र आफुबारे केही असन्तुष्टि रहेको भन्दै कतिपय कुरालाई आफुले स्वभाविक रुपमा लिएको पनि उनले बताए। आजसम्म संविधान निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएकाले पार्टीलाई ध्यान दिन नसकेको पनि उनले स्वीकार गरे।
'पार्टी भित्र साथीहरुबाट केहि असन्तुष्टि अभिव्यक्त हुने गरेका छन। कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन,' उनले भने 'पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुँदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र उर्जा त्यस तर्फ केन्द्रित भयो।'
आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेस भन्दा प्रिय वस्तु अरु केही नभएको पनि उनले बताए। सभापति देउवाले छिटै नै पार्टीका विभागहरु गठन गर्ने पनि बताए। विधानअनुसार महाधिवेशनको एक महिनाभित्र गरिसक्नुपर्ने विभाग गठन अहिलेसम्म नगरेको भन्दै उनको आलोचना हुँदै आएको छ।
हेटौँडा भेलालाई सम्बोधन गर्दै उनले महासमितिबाट विधान संशोधन गरि संविधान अनुरुपको पार्टी संरचना तयार गर्ने पनि बताए।
'संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको छ । संघीयताका आधारमा नयां संरचनाहरु बनेका छन । त्यस अनुरुप पार्टीका संरचना तयार गर्नुपर्ने छ । पार्टीको विधानमा अन्य समसामयीक परिवर्तन गर्न आावश्यक छ।' उनले भने, 'यसका लागि चाडै विधान संशोधन समिति गठन गरि विधान संशोधन गरिने छ। पार्टीको विभागहरु गठन गर्ने, महा-समितिको बैठकवाट विधान संशोधन गर्ने काम चाडै गरिने छ।'
एकताबद्ध कांग्रेसले नै संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको बाटोमा लैजान सक्ने भन्दै उनले सबैलाई गम्भीर हुन आग्रह गरे।
'यो संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको वाटोमा लैजाने हाम्रो लक्ष्य हो । कांग्रेसले सबै ठाउमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ,' उनले भने, 'एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसलेनै यी जिम्मेवारी बहन गर्न सक्दछ। यस बारेमा म स्वयं गम्भीर छु र सबै नेता साथीहरुलाई गम्भीर हुन आग्रह गर्दछु।