नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिंगो कांग्रेस एकजुट हुनुपर्ने बेला आएको बताएका छन्।
पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति लक्षित गर्दै उनले दुई बामपन्थी पार्टी एक हुँदा पनि कांग्रेस एक हुन नसकेको बताए।
मकवानपुरको हेटौंडामा मंगलबार जिल्ला सभापतिको राष्ट्रिय भेला उद्घाटनमा उपस्थित सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई महामन्त्री कोइरालाले सोधे, ‘बामपन्थी मिलिसके, तपाईँहरू किन एक हुनुभएन?’
पार्टीभित्र हुने अनावश्यक गुट, उपगुटले गर्दा चुनावमा धेरै सिट गुमाउनुपरेको उनले बताए। जिल्ला सभापतिहरुको काँधमा संगठन निर्माणलगायत महत्वपूर्ण जिम्मेवारी रहेकाले एकताको सन्देश बोकेर आउँदो ५ वर्षपछि हुने निर्वाचनमा पहिलो शक्तिको रुपमा कांग्रेसलाई पुर्याउने गरी काम गर्न आग्रह गरे।
जिल्ला सभापतिको भेला तीन दिनसम्म चल्नेछ। भेलामा सभापति देउवा लगायत कांग्रेसका पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरु सहभागी छन्।
गएको निर्वाचनमा भएको पराजयको कारण र आगामी रणनीतिबारे भेलामा छलफल हुने कांग्रेसले जनाएको छ।