प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ बहुमतले पारित गरेको छ।
आजको बैठकमा ‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले प्रदेशको समृद्धिको आधार आर्थिक पक्ष भएकाले राजश्व प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने बताए।
उनले कृषि, मनोरञ्जन, पर्यटनलगायतका क्षेत्रमा राजश्व संकलनलाई प्रभावकारी बनाइनुपर्ने र गिट्टी बालुवाजस्ता नदीजन्य वस्तुको उपयोगमा पनि करको दर निर्धारण गरिनुपर्ने बताए।
प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कर वृद्धि मात्रले सर्वसाधारण मर्कामा पर्ने बताउँदै कर निर्धारणमा व्यावहारिक पक्षमाथि ध्यान पुर्याउन आग्रह गरे।
अर्का सदस्य हरिशरण आचार्यले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोग न्यून गर्दै विद्युतबाट चल्ने साधनलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि सवारीसाधन कर छुट गरी प्रोत्साहित गर्नुपर्ने बताए।
छलफलमा उठेका जिज्ञासाको प्रत्युत्तरमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको समृद्धि र विकासलाई लक्ष्य गरी बजेट ल्याइएको बताउँदै यसको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नभनी अघि बढ्न आग्रह गरे।
आजै, मन्त्री गुरुङले विनियोजन विधेयक, २०७५ सभासमक्ष प्रस्तुत गरेका थिए। अर्को बैठक बुधबार ११:०० बजे बस्ने कार्यक्रम छ।