सुदूरपश्चिम सरोकार मञ्चले सुदूरपश्चिमका दुइटा नाका उरई र टिंकर नाका खोल्न माग गरेको छ । उसले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलई भेटेर उक्त माग गरेको हो ।
मञ्चका अध्यक्ष बिष्णु बहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नाका खोल्नुका साथै सेती लोकमार्गको विकट उत्तरी खण्डमा सुरुङमार्ग निर्माण गरिदिन ज्ञापनपत्र बुझाएको छ । साथै ज्ञापनपत्रमा टिकंर भञ्ज्याङ भन्दा उत्तरको अर्को नाका त्रीदेशीय सहमति भएपछि मात्र खोल्न र पश्चिम सेती जलाशययुक्त उच्च बाँधलाई सिंचाइसहितको बहुउद्देशीय परियोजनाका रुपमा निमार्ण गर्न चीन सरकारसँग स्पष्ट धारणा राख्दै सहयोग जुटाउन समेत अनुरोध गरेको छ ।
मन्त्री ज्ञावलीले उत्तरी नाकाकोस्थितिबारे र सेती लोकमार्ग खुटिया दिपायल द्रुतमार्ग र पश्चिम सेती परियोजनाबारे व्यापक जिज्ञासा राख्दै मञ्चका मागहरुमा सकारात्मक सहयोग गर्ने विश्वास दिलाउनु भएको छ ।
प्रतिनिधि मण्डलमा मञ्चका सल्लाहकार त्रय मोतिलाल बोहरा, शिवराज श्रेष्ठ मल्ल, आरडी प्रभाश चटौत र सचिव लक्ष्मी शाह, कार्यसमिति सदस्य राजेश्वरी सिंह र मिथिला शर्मा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।