संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्य सञ्चालन नियमावली आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिएको छ।
संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको आइतबार बसेको संयुक्त बैठकमा संयुक्त बैठक तथा संयुक्त समिति कार्य संचालन नियमावली पेश गरिएको हो।
नियमावलीमा संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय रहने व्यवस्था गरिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।
१२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रियसभाका सदस्यहरू रहने गरी संसदीय सुनुवाइ विशेष समिति रहने व्यवस्था गरिएको छ। नियमावलीमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको पनि व्यवस्था गरिएको सभापति पोखरेलले बताए।
८ परिच्छेद, ४३ नियम र १ अनुसूची रहेको नियमावलीमा जनमत संग्रह, राष्ट्रपति, उपराष्ट्रपतिको महाअभियोग, सरकारको बजेट तथा नीति कार्यक्रम, राष्ट्रिय महत्वका सन्धि, सम्झौता गर्दा दुवै सदनको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने प्रस्ताव गरिएको छ।
नियमावलीमा संशोधन राख्न यही सोमबार र मंगलबारको समय दिइएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय संसद सचिवालयमा सोमबार र मंगलबार नियमावलीमाथि संशोधन राख्न सक्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए।
असार ८ गते बस्ने संसदीय संसदको दुवै सदनको संयुक्त बैठकमा सो नियमावलीमाथि दफावार छलफल हुनेछ ।