सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्देशनपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम 'सिधा कुरा' बन्द भएको छ।
कार्यक्रम प्रस्तोता राजु थापाले मंगलबार टेलिभिजन प्रशासनले दबाब थेग्न गाह्रो भएकाले कार्यक्रम निरन्तर नहुने जानकारी गराएको बताए।
सरकारका सय दिनको समीक्षा गर्न गत शनिबारको कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री बाँस्कोटालाई अतिथि बनाइएको थियो। सोही कार्यक्रममा आफूले सोधेका प्रश्नको रिसमा मन्त्रीले कार्यक्रम बन्द गरिदिएको थापाको आरोप छ।
'मलाई पूरै कार्यक्रमभरि गाह्रो लागेको थियो। दाइजोको विषयआएपछि बढी तनावपूर्ण भयो,' थापाले भने,'कार्यक्रम सकिएपछि मन्त्रीज्यू आज पहिलो पटक मलाई कार्यक्रम चलाउन गाह्रो भयो भनें। उहाँ केही नबोली हिँड्नुभयो। हिजो कार्यक्रम बन्द भयो भनेर फोन आयो।'
कार्यक्रमको ३६ औं मिनेटमा सुशासनको विषयमा कुरा सुरू हुन्छ। सुरूमा मन्त्री बाँस्कोटाले १७ तोला सुन र ६० तोला चाँदी माइतीबाट नल्याएको दाबी गर्छन्। एकछिनमा सम्पत्ति विवरण देखाएपछि उनले चार/पाँच तोला हुनसक्ने बताउँछन्।
यस्तो छ सम्पत्ति विवरणकबारे थापा र मन्त्री बाँस्कोटाको प्रश्नोत्तर :
सञ्चालक: यसमा पनि श्रीमतीको नाममा देखाइयो? सबै कम्युनिष्ट मन्त्रीहरूको दाइजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि।
मन्त्री : मैले अघि नै उल्लेख गरें। यो यही सोसाइटी हो। नेपाली सोसाइटी हो। कम्युनिष्ट भन्नासाथचाहिँ बिहे गर्दाखेरि केरे उ समातेर घुमेकै हुन्छ नि। यतापट्टि के भन्छ।
सञ्चालक : होइन यो देख्दाखेरि पनि सुन्दाखेरि अप्ठेरो भएन?
मन्त्री : त्यो निजी मामला हो, कसले कसका नाममा राख्छ। मुख्यकुरा सम्पत्ति विवरण देखायो कि देखाएन भन्ने हो। प्रश्न त्यो हो। श्रीमतीका नाममा राख्यो कि दाजुका नाममा राख्यो कि …
सञ्चालक : त्यो पनि त जनताको चासो हो नि। सरोकारको विषय त हुन्छ। तपाईंले गरेको गतिविधि, तपाईंले गरेको….।
मन्त्री : कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाईं बताइदिनु त मलाई।
सञ्चालक : तपाईंहरू त दाइजो विरोधी।
मन्त्री : दाइजो भनेर क-कसले राख्याछ?
सञ्चालक : दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईंले राख्नुभाछ।
मन्त्री : श्रीमतीको विवाहमा आएको रे?
सञ्चालक : विवाहमा माइती पक्षले दिएको भनेर त तपाईंले राख्नुभाछ।
मन्त्री : कति राख्या छु?
सञ्चालक : तपाईंले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नुभाछ।
मन्त्री : हो, तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन।
सञ्चालक : माइतीबाट…
मन्त्री : छैन। तपाईं झुट बोल्दै हुनुहुन्छ।
सञ्चालक : म तपाईंलाई देखाइदिउँ?
मन्त्री : मसित झुट बोल्नु पर्दैन। चार/पाँच तोला श्रीमतीबाट आएको होला। हो? १७ तोला…
सञ्चालक : तपाईंको सम्पत्ति विवरण मसँग छ सर…
मन्त्री : ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो।
सञ्चालक : तपाईंको सम्पत्ति विवरणमा…
मन्त्री : ठीक छ, राख्नुस्।
सञ्चालक : १७ तोला सुन…
मन्त्री : हो।
सञ्चालक : र ६० तोला चाँदीचाहिँ…
मन्त्री : हो।
सञ्चालक : विवाहमा दिएको माइतीले भनेर लेख्नुभाछ।
मन्त्री : हो।
सञ्चालक : अघि हैन भन्नुभो।
मन्त्री : हो दिएको हो। तर सबै दिएको हैन।
सञ्चालक : लेख्दाखेरि त्यो गल्ती भयो?
मन्त्री : सबै दिएको होइन। मैले अघि पनि तपाईंलाई भन्दैछु। सम्पत्ति सार्वजनिक गर्यो कि गरेन मूल प्रश्न त्यो हो।
सञ्चालक: तर यो पनि जनताको चासोको विषय भयो नि।
मन्त्री : जनताको चासोको विषय भएर न सार्वजनिक गरियो। लज्जाको विषय भएको भए सार्वजनिक गर्नुपर्थ्यो र मुख लुकाएर गर्नुपर्ने कुरा छ र? जति छ त्यति देखाएको हो। तपाईंले मकहाँ ऊ त्यहाँ साथीले दिएको टेलिभिजन पनि लेखेको छ होला, छ?
सञ्चालक : ४८ इन्चको टिभी साथीले दिएको भनेर लेखेको छ।
मन्त्री : हो दिएको हो कोरियाबाट आउने साथीले दिएको हो। नाम चाहियो भने पनि म भन्दिन्छु। मसित त्यति हिम्मत छ। मलाई कुनै छुपाउनु ढकाउनु छैन।
सञ्चालक : तपाईंले त्योचाहिँ अलिकति कस्तो भने राजनीतिक दलका नेताहरू जो पोजिसनमा बस्छन् …
मन्त्री : तपाईंलाई यो पनि बताउँ… म पनि काम गरेर आएको मान्छे हो।
सञ्चालक : त्यसरी काम गर्दाखेरि पोजिसनमा हुँदाखेरि त्यसको प्रभाव, प्रभावित भएर गर्नु हुन्न भन्ने एउटा सिद्धान्तका आधारमा यो कुरा गरिएको छ।
मन्त्री : तपाईंले के फेला पार्नुभयो?
सञ्चालक : होइन, प्रभावित हुने सम्भावना हुन्छ कि हुँदैन?
मन्त्री : कुनै हिसाबले प्रभावित हुँदैन। म दावासाथ भन्छु। तपाईंकहाँ सम्पत्ति विवरण गरेकोभन्दा अहिले मेरो बैंक खातामा खोज्न जानु भयो भने २ लाख रुपैयाँ कम छ, मन्त्री भएवापत्। थाहा पाउनुस् याँ। यो पनि बताइदिन्छु। सम्पत्ति विवरण ले ले भन्या होइन घट्या सम्पत्ति कल्ले थपिदिने?
२०६३ साल भदौदेखि कार्यक्रम प्रसारण हुन थालेको थियो। साँझ पाँच बजे लाइभ प्रसारण हुने कार्यक्रमको विषयवस्तु र अतिथि निर्धारण नेपाल टेलिभिजनको सम्पादकीय टिमले नै गर्थ्यो।
थापाले यसअघि २०६५ सालमा माओवादी सरकारले पनि प्रश्न सोधेको विषयलाई लिएर कार्यक्रम बन्द गरेको बताए।
'कृष्णबहादुर महरा सञ्चार मन्त्री हुँदा जितेर आएको पार्टीलाई यस्तो कुरा सोध्ने भनेर कार्यक्रम बन्द गरियो, थापाले भने, '१ वर्षपछि कुन्दन अर्याल (अहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार) नेपाल टेलिभिजनमा आएपछि तपाईंमाथि अन्याय भएको हो भनेर कार्यक्रम फेरि सूचारू गरिदिनु भयो,' थापाले भने।
उनले प्रश्न सोधेकै कारण यसअघि पनि प्रधानमन्त्री कार्यालयबाट सरकारलाई सहयोग हुने गरी कार्यक्रममात्र चलाउन निर्देशन आएको बताए।
'नयाँ सरकार बनेको केही दिनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको सम्बन्धबारे प्रश्न सोध्दा प्रधानमन्त्री कार्यालयबाट नै ध्यानाकर्षण भएकाले आइन्दा यस्तो नगर्न प्रशासनले निर्देशन दिएको थियो, ' थापाले भने, 'यसपालि कार्यक्रम नै बन्द भयो। यसले सरकार नियन्त्रित प्रेसका पक्षमा छ भन्ने देखाउँछ।'
कार्यक्रम बन्द भएको विषयमा प्रतिक्रिया लिन खोज्दा मन्त्री बाँस्कोटासँग सम्पर्क हुन सकेन।
नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोक्काले मन्त्रीको निर्देशन नभई न्युज च्यानल आफैंले कार्यक्रम बन्द गर्ने निर्णय गरेको बताए।
'बरू मलाई सञ्चार मन्त्रीज्यूको सचिवालयबाट किन कार्यक्रम बन्द भएको भनेर फोन आएको थियो उहाँले निर्देशन दिएर बन्द भएको भन्ने होइन्,' रोक्काले भने।