नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारेका छन्।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेको बताउँदै भने,‘यो विषयमा कानूनविद्हरूसँग छलफल गर्छौं, नयाँ परिस्थिति अनुसार प्रतिपक्षसँग पनि छलफल गरी नयाँ सहमतिका साथ अघि बढ्छौं।’
साक्षात्कारमा बोल्दै उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आकस्मिक रूपमा पार्टी एकता भएकोले एकीकृत पार्टी बनिसकेपछि अब नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाए।
उनले भने,‘सभामुख र उपसभामुखको निर्वाचन हामी दुई पार्टीबीच एकता हुनुपूर्व नै भएको हो, त्यतिखेर छुट्टाछुट्टै पार्टी भएकोले संविधानको मर्म अनुसार नै हामी अघि बढेका थियौं, अब नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्छौं, यसका लागि सबै पक्षसँग छलफल गरेर उचित निकास निकाल्छौं।’
नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा आफूहरूले संविधान बनाउँदा नै फरक मत राखेको स्मरण गराउँदै भने,‘यो विषय मरिसकेको छैन, संविधान जारी गर्दै गर्दा पनि यो विषयमा हाम्रो पार्टीले फरक मत राखेको हो, लोकतन्त्रमा छलफल नै गर्न नहुने भन्ने हुँदैन, अहिले यो विषयबारे चर्चा भएको छ, तर हाम्रो पार्टी नेकपाभित्र यसले कुनै आकार लिएको छैन।’
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति त प्रचण्ड बन्न तयार हुनुभयो अरे नि त भनेर सोधिएको प्रश्नमा उनले भने,‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि यो प्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रूपमा प्रचण्ड नै सशक्त उम्मेद्धवार हो।’
उनले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा समेत गरे ।
यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आगामी पाँच वर्षसम्मको लागि भएको उल्लेख गर्दै भने,‘एकता हुँदाखेरी नै हामीबीच सरकार आलोपालो चलाउने सहमति भएको हो, ओलीले अढाई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी प्रचण्डले चलाउने, यही पाँच वर्षको अवधिभित्रै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था लागू भए प्रचण्ड राष्ट्रपति बन्नुहुन्छ।’