जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय तोकेको छ।
जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो। २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए। शिवराज नगरपालिका–१० स्थित गणको पश्चिपट्टिको गेटनिर ७ :३० बजेतिर ती महिलालाई करणी गरेका थिए।
तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौठटामा कार्यरत अवस्थीबाट पीडित महिलालाई रु एक लाख क्षतिपूर्ति भराउनेसमेत अदालतको फैसला छ।
अदालतका श्रेस्तेदार डिल्लीराज शर्माअनुसार मुलुकी ऐन जबर्जस्ती करणी ३ (५) अनुसार पाँच वर्ष कैद तोकिएको छ। सोही महलको ३ (क) अनुसार शारीरिकरूपमा अस्वस्थ देखिएकोका महिलालाई करणी गरेकोमा थप पाँच वर्ष कैद सजाय गरिएको हो।
यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ। थारुले करणीमा अवस्थीलाई मद्दत गरेको पाइएको श्रेस्तेदार शर्माले बताए।
पीडित महिलाले औलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन्। घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो। ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जाएको छ।