प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ढंगले देशको विकास गर्न जरूरी रहेको बताएका छन्।
शनिबार प्रदेश १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘हिजो झै योजनामा नभएका, बजेटमा नभएका देशको अर्थतन्त्रलाई टाट उल्टाउने काम त्यस्तो गैरजिम्मेवार काम अहिलेको सरकारले गर्दैन,’सम्बोधन गर्दै उनले भने,‘ अब यो सरकारले नयाँ ढंगले विकास गर्छ।’
प्रधानमन्त्री ओलीले सरकार तानाशाही, अधिनायवादतिर जान लाग्यो भन्ने विषय मिथ्या भएको जिकिर गरेका छन्।
‘तपाईंहरूले सरकार तानाशाही, अधिनायकवादतिर जान लाग्यो भन्ने सुन्नु भाको होला, त्यसको सवाल जवाफमा जान चाहन्न’,उनले भने, ‘व्यवहारबाटै देखिन्छ नि सरकार अधिनायवादतिर जाँदै छ कि लोकतन्त्रतिर जाँदै छ।’
साथै, प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि नछोड्ने प्रतिबद्धता प्रदेश १ को सभामा पनि दोहोर्याएका छन्।