सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आव २०७३÷७४ मा २६ वटा संस्थान नाफा कमाउन सफल भएका छन्।
गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल दुरसञ्चार कम्पनी, नेपाल आयल निगम, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन्।
यी संस्थानको जम्मा सञ्चालन आय समग्र संस्थानको कुल सञ्चालन आयमा ६९.४ प्रतिशत रहेको छ। सबैभन्दा बढी नाफा कमाउने यी पाँच बाहेक २१ सस्ंथानको सञ्चालन आय २८.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
यद्यपी यी संस्थानमध्ये नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंक विगतमा नोक्सानीमा रहेका कारण गत आवसम्म पनि सञ्चित नोक्सानीमा रहेको देखिएको छ।
सरकारको ९१.४ प्रतिशत शेयर स्वामित्व रहेको नेपाल टेलिकमले गत आवमा सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा १५ अर्ब ३७ करोड नाफा कमाएको छ। संस्थानहरुको जम्मा खुद नाफामा कम्पनीको हिस्सा ३६ प्रतिशत छ।
स्वाचालित मूल्य निर्धारण प्रणाली अवलम्बन पश्चात आयल निगमको आर्थिक स्थिति समेत मजबुत बन्दै गएको छ। गत आवमा निगमले १० अर्ब ४१ करोड खुद नाफा कमाएको छ। संस्थानहरुको खुद नाफामा उसको हिस्सा २४. ४ प्रतिशत हो।
बढी नाफा कमाउने तेश्रो संस्थानमा नेपाल बैंक लिमिटेड परेको छ। संस्थानहरुको खुद नाफामा उसको हिस्सा ७.३ प्रतिशत छ। बैंकले गत आवमा ३ अर्ब ११ करोड खुद नाफा कमाएको छ।
चौथो स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ७७ करोड खुद नाफा गरेको छ। संस्थानहरुको कुल नाफामा उसको हिस्सा ६.५ प्रतिशत छ।
पाँँचौ स्थानमा रहेको कृषि विकास बैंकले २ अर्ब ५६ करोड कमाएको छ। समग्र नाफामा उसको हिस्सा ६ प्रतिशत छ।
संचिति नाफाका आधारमा पनि टेलिकम सबैभन्दा अगाडि छ। उसको जगेडा कोषमा गत आवसम्म ७६ अर्ब ३३ करोड छ।
लाभांश दिनेमा टेलिकम अगाडि
सार्वजनिक संस्थानहरुबाट सरकारले प्राप्त गर्ने लाभांशमा सामान्य वृद्धि देखिएको छ। चार वर्षको अवधिमा ४. ९ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०६९/७० मा कुल ६ अर्ब ९९ करोड २ लाख रुपैयाँ सरकारले लाभांश प्राप्त गरेकोमा २०७३/७४ मा ७ अर्ब ७७ करोड ७० लाख पाएको छ। लाभांशमा सबैभन्दा बढी नेपाल टेलिकमको हिस्सा छ। गत आर्थिक वर्षमा सरकारले पाएको कुल लाभांशमा ८९. ९ प्रतिशत टेलिकमको हिस्सा छ।
सेयर लगानीको तुलनामा प्रतिसेयर लाभांश भने घट्दो अवस्थामा छ। ४ वर्षको अवधिमा ४० मध्ये १० संस्थानले मात्रै नियमित लेखा परीक्षण गराएका छन्।
एनआइडिसी, औधोगिक क्षेत्र, कृषि सामाग्री, जलविद्युत लगानी तथा विकास कम्पनी, टिम्बर कर्पोरेसन, आयल निगम, स्टक एक्सचेन्ज, वाणिज्य बैंक, टेलिकम र सांस्कृतिक संस्थानले नियमित लेखा परीक्षण गरेका छन्।
यी ५ संस्थान जसले सबैभन्दा धेरै घाटा बेहोरे
सर्वेक्षण अनुसार उच्चतम घाटामा रहेका ५ संस्थानमा क्रमश जनक शिक्षा सामाग्री केन्द्र, दुग्ध विकाश संस्थान, नेपाल खानेपानी संस्थान, नेपाल औषधि लिमिटेड, नेपाल ओरियन्ड म्याग्नेसाईट लिमिटेड रहेका छन्।
गत आर्थिक वर्ष जनक शिक्षा सामाग्री केन्द्रको खुद नोक्सानी समग्र नोक्सानीमा २५.३ प्रतिशत रहेको छ। संस्थानको संचित नोक्सानी यस आवसम्म २ अर्व ७ करोड ७४ लाख पुगेको छ।
दुग्ध विकाश संस्थानको खुद नोक्सानी हिस्सा १७.१ प्रतिशत रहेको छ। यसको संचित नोक्सानी ५४ करोड ९९ लाख पुगेको छ।
नेपाल खानेपानी संस्थाले नोक्सानी हिस्सा १६.६ प्रतिशत ओगटेको छ। गत आवसम्म यस संस्थानको संचित नोक्सानी १ अर्व २० करोड ३५ लाख पुगेको छ।
११.१ प्रतिशत नोक्सानी हिस्सा औषधि लिमिटेडले बोकेको छ। संचालनका पछिल्ला वर्षमा नोक्सानीमा रहेकाले गत आव सम्म उसको संचित नोक्सानी १ अर्व ४४ करोड ९९ लाख पुगेको छ।
नेपाल ओरिण्ड म्याग्नेसाइटको कुल नोक्सानीमा ९.८ प्रतिशत हिस्सा रहेको छ। हालसम्म यसको संचित नोक्सानी ४ अर्व ४२ करोड ७२ लाख पुगेको छ। २०५८ सालदेखि खरीढुङ्गा उत्खनन कार्य बन्द भएपछि यसको व्यवसायीक उत्पादन छैन।