सरकारको नीति तथा कार्यक्रम पारित हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार कांग्रेस सांसद भरतकुमार साहले मूल्यबृद्धि नियन्त्रण गर्न नसकेकोमा स्पष्टिकरण माग गरे।
सभामुखबाट प्रधानमन्त्रीलाई स्पष्टिकरण माग्न एक मिनेट समय पाएका साह यतिमा रोकिएनन्। साहले सोधे – साइकल मात्रै सम्पत्ति देखाउने मन्त्री लालबाबु पण्डितले कसरी कमाए ५५ लाख सम्पति?
साहले सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण प्रति प्रधानमन्त्रीबाट प्रष्टिकरण मागे। ‘प्रधानमन्त्रीले हनिमुन पनि नमनाएर काम गरेको छ भन्नुभो। सय दिन पहिले पेट्रोलको दाम ९० रुपैयाँ थियो आज १०८ छ। डिजेलको ८१ थियो अहिले ९२ छ। एउटा इट्टाको ११ रुपैयाँ थियो आज १५ रुपैयाँ छ। सिमेन्ट बोराको ७५० थियो अहिले १ हजार ५० रुपैयाँ पुगेको छ’ संसदमा साहले प्रश्न गरे।
जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘म सानो हुँदा ५० पैसा माना घ्यु, ९० रुपैयाँ तोला सुन थियो। अहिले भाउ त धेरै बढिसक्यो।’
संसदमा हाँसो फैलियो।
सरकारमा आएको तीन महिनामै मुल्यबृद्धिको हिसाब मागेको भन्दै प्रधानमन्त्री ओलीले कहिले कहिले पहिरो गएर बाटो अबरुद्ध हुँदा पनि गोलभेडाको मूल्य बढ्ने तर सरकारले भाउ बढाएको भन्दै विरोध हुने गरेको बताए।
संसदमा नीति तथा कार्यक्रम माथि जवाफ दिने क्रममा प्रधानमन्त्रीले पानी जहाज ल्याउने सपना आफूले दिउँसै देखेको बताएका थिए। कांग्रेस सांसद मीनेन्द्र रिजालले स्पष्टिकरण सोधे – ‘सरकारको कार्यक्रम पत्यार लागेन पनि भन्न नपाउने हो?’
‘प्रतिपक्षीले प्रश्न गर्न पाउँछ तर प्रश्न गर्ने अधिकार छ भन्दैमा राम्रो कामको पनि विरोध गर्नु भएन,’ जवाफमा प्रधानमन्त्री ओलीले संसदको रोष्टम अगाडिको फ्लोर देखाउँदै भने, ‘नाच्न पाउने अधिकार छ भन्दैमा यहाँ अगाडि नाच्न भएन नि।‘
प्रधानमन्त्री ओलीलाई कांग्रेसका अर्का सांसद अमरेशकुमार सिंहले पनि पानी जहाजको विषयमा कटाक्ष गरे।
‘पानी जहाज भन्दा सडक कालोपत्रे गर्नुपर्यो’, सिंहले भने, ‘सर्लाहीको सडक कहिले कालोपत्रे गर्नुहुन्छ, बर्खा लाग्यो बाढी, पहिरो रोकथाम गर्न सरकारको तयारी के छ।’
जस्तालाई त्यस्तै शैलीमा जवाफ फर्काइहेका प्रधानमन्त्री ओलीले सांसद सिंहलाई पानीजहाजको तुलना सडकसँग नगर्न सुझाए। ‘सडकको खाल्डाखुल्डी तपाँइलाई मात्र भएको हो र, सर्लाहीको बाटो पनि कालोपत्रे गर्ने हो, पानी जहाज पनि चलाउने हो’ प्रधानमन्त्रीले जवाफ दिए। सिंहले संवैधानिक अंगहरु सर्वोच्च अदालत, अख्तियार दुरुपयोय अनुसन्धान आयोगको पूर्णतामा उठाएको प्रश्नमा ओलीले ‘संसदको नियमावली नभएका कारण संसदीय सुनुवाई समिति नभएको’ जवाफ दिए। ‘नियमावलीमा सहमतिमा आउनुस’, ओलीले भने।
सांसदहरुले टेबल ठोके।
अर्का कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्टाछुट्टै किन उल्लेख गरियो भन्दै प्रश्न गरे।
‘नीति तथा कार्यक्रममा असहमति होइन रहेछ’, ओलीले जवाफ फर्काए, ‘समस्या कँही कतै रहनेछ, खाली भाषिक समस्या जस्तो लाग्यो। तराईतिर स्पष्टलाई अस्पष्ट भन्छ। त्यहि समस्या मात्रै हो कि जस्तो देखियो। तराईको भाषामा भन्ने हो भने यो अस्पष्ट नै हो। अन्तको भाषामा भन्ने हो भने स्पष्ट नै हो।‘
संसदको छलफल र सवाल जवाफपछि आइतबार संसदले नीति तथा कार्यक्रम पारित गरेको छ।