नेपाली कांग्रेस प्रदेश ४ का सांसद प्रकाशचन्द्र दवाडीले आफूले पाएको पारिश्रमिकले गोरखाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
गोरखा-२ ख बाट प्रदेश सभा सदस्य बनेका दवाडीले आफ्नो निर्वाचन क्षेत्र सिरानचोक गाउँपालिका- ७ स्थित जनकल्याण माध्यामिक विद्यालयमा ५५ हजार पाँच सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।
चुनाव जितेपछि दवाडीले आफूले पाउने पारिश्रमिक व्यक्तिगत रूपमा खर्च नगर्ने भन्दै निर्वाचन क्षेत्रका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने घोषणा गरेका थिए। सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा दवाडीले अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका हुन्।
सांसदले पाउने पारिश्रमिकले अरू विद्यालयमा पनि अक्षयकोष स्थापना गर्दै जाने दवाडीले जानकारी दिए। अक्षयकोषबाट आउने ब्याज विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्ने विद्यालयले जनाएको छ।
यसैबीच भूकम्पले भत्काएको विद्यालय भवन असल छिमेकी पोखराको सहयोगमा पुनर्निर्माण भएको छ। प्रदेश ४ का भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले १६ कोठे विद्यालय भवनको सोमबार उद्घाटन गरे।
सो भवन २ करोड ५६ लाख लगानीमा बनेको हो। विद्यालय बनेपछि यहाँका विद्यार्थीले अब टहरामा बसेर पठनपाठन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। भूकम्पले गोरखाका ४४९ विद्यालय भत्काएको थियो।