प्रदेश नम्बर २ का कर्मचारीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा जनकपुरमा राष्ट्रिय झन्डाको स्वरूप बिगारेको बारे हेक्कै नभएको स्पष्टिकरण दिएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको दुई पाना लामो स्पष्टिकरणमा प्रदेश नम्बर २ का प्रमुख सचिव हरि फुयाँल, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जनकपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरेले झन्डा कसले कार्यक्रम स्थलमा राखेको भन्ने आफूहरूलाई जानकारी नभएको स्पष्टिकरण दिएका हुन्।
प्रमुख सचिव हरि फुयाँलले मन्त्रालयमा पठाएको स्पष्टिकरणमा मञ्च व्यवस्थापनको जिम्मा आफूहरुको समेत रहेपनि झण्डा कसले, कतिबेला र किन राखेको हो भन्ने आफूहरुलाई जानकारी नै नभएको उल्लेख गरेका छन्।
प्रजिअ पराजुली बाहेकका कर्मचारीले आफूहरुलाई मञ्च व्यस्थापनको सिलसिलामा सबै ठाउँमा जानसमेत नदिइएकाले स्वरूप बिगारेको झन्डा कसले राखेको हेक्का नभएको स्पष्टिकरण दिएको मन्त्रालयले जनाएको छ।
आन्तरिक मामिला मन्त्रालयका सचिवले भने अहिलेसम्म स्पष्टिकरण बुझाएका छैनन्। बिहीबार साँझसम्म स्पष्टिकरण दिने समय छ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार तीन जनाले 'स्वरूप बिगारेको झन्डा कसले कार्यक्रम स्थलमा राखेको जानकारी नभएको, मिडियामा समाचार आएपछि मात्रै जानकारी पाएको' उल्लेख गरेका छन्।
मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप कसरी बिग्रियो, त्यसमा कोको जिम्मेवार छन्? भन्ने तीन दिनभित्र स्पष्टिकरण दिन गत सोमबार निर्देशन दिएका थिए।
सबैबाट स्पष्टिकरण प्राप्त भएपछि मन्त्रालयले थप सत्यतथ्य बुझ्ने अधिकारीले बताए।