नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादलाई सत्तामा पुग्ने भर्याङमात्रै बनाएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन प्रधानमन्त्री ओलीले नचाहिँदो चाकडी गरेको उनले बताए।
‘सिंगो नागरिकको ठेक्का लिएर मोदीलाई दुई ठाउँमा नागरिक अभिनन्दन किन गरियो?,’ सोमबार झापामा आयोजित एक कार्यक्रममा पौडेलले प्रश्न गरे, ‘प्रदेश २ र ३ मा मात्रै अभिनन्दन गर्दा अरू प्रदेशले के सोच्ने? एक ठाउँमा अभिनन्दन गरेको भए भइहाल्थ्यो।’
भूकम्पले थिलोथिलो भएका बेला नाकाबन्दी लगाएका मोदीलाई नागरिकस्तरबाट अभिनन्दन गर्न नहुने भए पनि सरकारले सिंगो नागरिकको ठेक्का लिएर अभिनन्दन गरेको भन्दै पौडेलले ओली नेतृत्वको सरकारको नक्कली राष्ट्रवाद छताछुल्ल भएको बताए।
‘राष्ट्रियताको सवालमा प्रधानमन्त्री ओलीको यसपटक इ ग्रेड आएको छ। अरुलाई राष्ट्रवाद सिकाउने ओलीको मुकुण्डो उदांगिएको छ,’ उनले भने।
जनकपुरमा नेपाली झण्डाको स्वरूप परिवर्तन गर्नेलाई कारबाही गर्नु पर्ने उनले बताए। यस्तै नेपाली पत्रकारलाई मोदी सरिक कार्यक्रममा जान नदिने तर भारतीय पत्रकारलाई जहाँतहीँ फोटो/भिडियो खिच्न दिएकोप्रति पौडेलले आपत्ति जनाए।
‘प्रेस स्वतन्त्रताको कुरा गरेर नथाक्ने, नक्कली राष्ट्रवादको नारा घन्काउने सरकारले नेपाली भूमिमै नेपाली पत्रकारलाई समाचार संकलनमा अवरोध गर्नु अत्यन्त निन्दनीय कार्य हो’ उनले भने।
पौडलले पाहुनाको सुरक्षा गर्न नेपाली सुरक्षाकर्मी नै योग्य र क्षमतावान् भए पनि भारतीय सुरक्षाकर्मीलाई सरकारले निर्वाध प्रवेश दिएको बताए।
उनले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिविरूद्ध सरकारले कुनै कदम नचालेकोमा पनि आपत्ति जनाए।
‘प्रदेश २ का मुख्यमन्त्रीले संविधानविपरीत आफ्नो देशको कुरा भारतीय प्रधानमन्त्री समक्ष राखे पनि यो सरकारले त्यसविरुद्ध कुनै कदम चालेको छैन। मुख्यमन्त्रीको सपथ खाने बेला संविधान विभेदकारी नहुने भारतीय प्रधानमन्त्री आउँदा संविधान विभेदकारी भयो भन्नेलाई कारबाही गर्नुपर्छ,’ पौडेलले भने।