भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौंमा गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभन्न नागरिक अगुवाले सरकारलाई आग्रह गरेका छन्।
मंगलबार जनकपुर र काठमाडौंका मेयरका नाममा पत्र लेख्दै नागरिक अगुवाले मोदी सरकारले लगाएको नाकाबन्दीको कारण नागरिक स्तरमा सम्बन्ध सुध्रिन नसकेकाले उनको अभिनन्दनलाई नागरिक अभिनन्दन नभन्न आग्रह गरेका हुन्।
यस्तो आग्रह गर्नेमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, द्वारिकानाथ ढुङ्गेल, सुुरेन्द्र भण्डारी, चैतेन्द्रजङ्ग हिमाली, सुरेन्द्र केसी, रत्नसंसार श्रेष्ठ, अरुणा उप्रती, ध्रुवहरी अधिकारीलगायत २४ जना छन्।
‘नागरिकको स्तरमा पनि सम्बन्ध सुधार हुन सकेमा मात्रै नेपाल भारत सम्बन्ध साँचो अर्थमा सुधार भएको मान्न सकिन्छ। तर नेपालको संबिधान, २०७२ जारी भए लगतै र महाभुकम्पको पिडामा सिंगो मुलुक आहत भएको अबस्थामा जसरी भारत सरकार (मोदी सरकार) बाट नेपाल माथि १३५ दिनसम्म नाकाबन्दी लगाई मानवीय संकटको स्थितिमा नेपाललाई पुर्याउने काम भयो, त्यसलाई नेपाली नागरिकले भुल्न सकेका छैनन्,’ उनीहरूले भनेका छन्।
उनीहरूले नाकाबन्दीबारे मोदीले सार्वजनिक क्षमा याचना र त्यसवापत् नेपाललाई पर्न गएको आर्थिक, मानवीय र सामाजिक क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा वैशाख २८ गते र काठमाडौंमा २९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।