भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आउने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ। उनकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिए।
‘हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने उहाँ नै उच्च विदेशी पाहुना हुन्, यसले मुक्तिनाथको प्रचार विश्वव्यापी हुनेछ’, उनले भने, ‘त्यसैले उहाँको सम्मानमा हामीले कुनै कन्जुस्याइँ गर्दैनौँ।’
मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको उनले बताए। ‘तर, यी कुराहरू उहाँको समयअनुसार हुन्छ, हामीले तयारी भने गरेका छौँ’, विष्टको भनाइ थियो।
वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन्। पूजापाठ अघि नै उनलाई नागरिक अभिनन्दनको तयारी भइरहेको छ। उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सीमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ। रासस